मौसम : सोमवारदेखि पुनः वर्षा र हिमपात, जुम्लाको तापक्रम माइनसमा झ-यो

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्हपछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज मौसममा केही सुधार भई घाम लागे पनि भोली सोमबारबाट देशभरीकै मौसम पुनः प्रभावित भई झरी पर्ने मौसमविद् मञ्जु बासीले बताए । 
उनका अनुसार पश्चिमी वायुको नयाँ प्रणाली सोवार बिहानबाट भित्रिँदैछ । यसले गर्दा देशका अधिकांश भू–भागमा मध्यमदेखि हल्का वर्षा र हिमपातको गतिविधि पुनः दोहोरिने मौसमविद् बासीले बताए । 

राति देशभर मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै भोलि सोमवार पश्चिमी भू–भागलगायत पूर्वी तथा पहाडी क्षेत्रमा आंशिक बदली रही देशको पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा र पूर्वी पहाडी भेगका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मङ्गलवार देशको पश्चिमी भेगमा सामान्य बदली रही पश्चिमी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । महाशाखाको पछिल्लौ विवरणअनुसार आज काठमाडौंका अधिकत तापक्रम २० दशमलव ३ डिग्री र न्यूनतम तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ । 

त्यस्तै जुम्लाको तापक्रम माइनस एकमा झरेको छ । सबैभन्दा बढी विराटनगरको न्यूनतम तापक्रम २७ डिग्री सेल्सियस रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?