सरकारलाई कांग्रेसको आरोप, ‘बयलगाडा चढेर सगरमाथा पुगिन्न’

काठमाडौँ — सरकारको एकवर्षे कार्यकाल मूल्यांकन गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले ‘प्रधानमन्त्री केपी शर्मा ओली बयलगाडा चढेर सगरमाथा चढ्न लागेको’ टिप्पणी गरेको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

सरकार आर्थिक समृद्धि, शान्तिसुरक्षा र सुशासनको दिशामा असफल रहेको उसको दाबी छ । सरकारका कामबारे प्रतिपक्षको धारणा सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सर्वसाधारणले दुई तिहाइको सरकार देखे पनि प्रतिफल देख्न नपाएको निष्कर्ष सुनाए ।

‘बलियो सरकार भएका बेला मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने, लगानीका अवसर बढ्ने, बाह्य लगानीकर्ता आकर्षित हुने, भरपर्दो शान्तिसुरक्षा कायम भई लगानीकर्ता ढुक्कले आउने पूर्वानुमान र आमअपेक्षा यो वर्ष दिनमा खण्डित भएको छ,’ उनले भने ।

कांग्रेसले आर्थिक सूचकांकका विवरणसमेत प्रस्तुत गरेको थियो । ‘व्यवस्थित अर्थतन्त्रको महत्त्वपूर्ण मानक राजस्वको आकार बढ्ने र पुँजीगत खर्च समयमै प्रभावकारी रूपले हुने कोणमा निर्भर हुन्छ,’ कांग्रेसले भनेको छ, ‘तर बलियो सरकार भनिए पनि पुंँजीगत खर्च माघ मध्यमा आइपुग्दा केबल २२.८७ प्रतिशत मात्रै छ ।’
उसले विदेशी लगानी तत्कालीन कांग्रेस नेतृत्वको पाँच महिनामा ११.८७ अर्ब भित्रिएको तर ओली नेतृत्वको सरकार बनेको पाँच महिनामामा ५ अर्ब घटेर जम्मा ६.१२ अर्ब भित्रिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?