मोरङमा ट्रिपरलाई टाइम कार्ड

विराटनगर । ट्रिपरबाट हुने दुर्घटनालाई न्यूनिकरण गर्न मोरङ प्रहरीले टाइम कार्ड लागू गर्ने भएको छ । 

मोरङ बजार क्षेत्रमा ट्रिपरबाट दुर्घटनाको जोखिम बढेपछि मोरङ प्रहरीले टाइम कार्ड लागू गर्ने तयारी गरेको हो ।

अहिले प्रदेश १ मा बिहान र बेलुका गरी जम्मा ४ घण्टा मुख्य राजमार्गमा ट्रिपर कुदाउन प्रतिवन्ध छ भने त्यसबाहेक छुट्टै टाइम कार्ड लागू गर्ने तयारी मोरङ ट्राफिक प्रहरीले जानकारी दिए । 

प्रहरीले तयार पारेको नयाँ टाइम कार्डमा पुग्नुपर्ने दूरीको न्यूनतम समय निर्धारण गरिने छ । कार्डमा तोकिएको समयभन्दा छिटो पुग्ने ट्रिपरलाई कारवाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख शिवकुमार पोखरेलले जानकारी दिए ।

पोखरेलले व्यवसायीसँग छलफल गरेपछि ट्राफिक प्रहरीले दूरी अनुसारको समय निर्धारण गर्ने उनले बताए ।

कार्ड लागू भएपछि मुख्य राजमार्गमा खटिएका ट्राफिक प्रहरीले ड्राइभरलाई दिएको कार्डमा छुटेको समय र पुग्नु पर्ने समय लेखिदिएका हुन्छन् । कागजमा लेखिएको समय अर्काे स्टेशनमा बस्ने ट्राफिकलाई म्यासेज पनि गरिएको हुन्छ । म्यासेज र कार्डमा लेखिएको समयभन्दा छिटो पुगे ड्युटीमा खटेका प्रहरीले जरिवाना गर्नेछन् । ‘दूरी अनुसार पुग्नुपर्ने गरी समय सीमा निर्धारण हुन्छ, समय सीमाभन्दा अघि पुगे जरिवाना गर्छाैं’ प्रमुख पोखरेलले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?