नेकपा एकता : पार्टी कार्यक्रम शून्य, कार्यकर्ता निराश

काठमाडौं।सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता टुंगो लाग्न नसक्दा पार्टी कार्यक्रम शून्य भएको छ । पार्टी एकता प्रक्रिया लम्बिँदा केन्द्रदेखि स्थानीय तहसम्मकै गतिविधि प्रायः ठप्प हुन पुगेको हो । नेकपा स्रोतका अनुसार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच भागबन्डा नमिलेपछि एकतासमेत अलमलमा परेको छ । कुन विभाग कसले लिने, जिल्ला नेतृत्व, जनवर्गीय संगठनको प्रमुखलगायतका विषयमा भागबन्डा नमिलेकै कारण एकता टुंगो लाग्नमा समस्या भएको हो । शीर्ष नेताबीचको भागबन्डाको किचलोले पार्टी एकता अलमलमा पर्नुका साथै पार्टी गतिविधि शून्य अवस्थामा पुगेको र यससँगै हजारौं नेता कार्यकर्ता जिम्मेवारीविहीन हुन पुगेका छन् ।

‘पहिला पहिला पार्टी र नेता कार्यकर्ता सक्रिय हुन्थे, सातामै दर्जनौं कार्यक्रम भइरहेको हुन्थ्यो,’ एक नेताले भने, ‘अहिले नेता कार्यकर्ता जिम्मेवारीविहीन हुनुका साथै कार्यक्रम पनि शून्य भएको छ ।’
स्थानीय तहदेखि जिल्ला, जनवर्गीय संगठन, विभागहरूको टुंगो लाग्न नसक्दा नेता कार्यकर्ता निराश बनेका छन् । जिम्मेवारीविहीन भएका उनीहरूले नेतृत्वप्रति आक्रोश व्यक्त गर्न सुरु गरिसकेका छन् ।
एकता प्रक्रियामा जानु अघिसम्म तत्कालीन एमाले र माओवादी दुवै दलका गतिविधि नियमित रूपमा हुने गरेका थिए तर एकता भएर नयाँ पार्टी बनेपछि भने पार्टीका गतिविधि प्रायः शून्य भएका छन् । राजधानी दैनिकमा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?