वीरगन्जमा जंगिए देउवा–पार्टी कसैको बपौति होइन

पर्सा– नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन घात अन्तरघात गर्ने सबैलाई अनुशासनको कारवाही हुने बताएका छन् ।

नेपाली काङ्ग्रेस पर्साले आज वीरगञ्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीभित्र अनुशासन नभए पार्टी कमजोर हुने भएकाले पार्टीलाई हानि–नोक्सानी पु-याउने सबैलाई कारवाही हुने स्पष्ट पारे ।

सभापति देउवाले जथाभावी बोल्दै हिँड्ने काङ्ग्रेसका नेता शेखर कोइरालालाई समेत कारवाही हुन सक्ने जानकारी दिए ।

“काङ्ग्रेस पार्टी कसैको बपौती होइन, यो नेपाली जनताको पार्टी हो, पार्टीलाई कमजोर गर्ने जो कोहीलाई कारवाही हुनेछ” सभापति देउवाले प्रस्ट पारे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र शुद्धीकरणको अभियान चलाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

नेपाली काङ्ग्रेस पर्साका सभापति अजयकुमार दिवेद्वीको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेलालाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, फर्मुल्लाह मंसुर, अजयकुमार चौरसिया, गगन थापालगायत वक्ताले मुलुकमा बढ्दै गएको हत्या, हिंसा र बलात्कार, भ्रष्टाचार र महँगीले जनता पीडित भए पनि सरकार बेखबर रहेकोे आरोप  लगाए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?