कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । 

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहीवार दिउँसो १ बजेपछि बस्ने बैठकमा महासमितिले पारित गरेको विधान र राजनीतिक प्रतिवेदनमाथि संयुक्त छलफल हुनेछ । 

गत फागुन १ गते बैठक बसेर आज (फागुन ९ गते)सम्मको लागि स्थगित गरिएको थियो । 

केन्द्रीय पदाधकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि चयन हुने–नहुने विवादका बीच कार्यसमितिबाट विधान अनुमोदन हुन सकेको छैन । उपसभापति विमलेन्द्र निधिले विधानमाथि विवाद नरहेको दाबी गर्दै आजको बैठकले विधान टुंगो लगाउने बताए । 

गत फागुन १ गतेको बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएकाले आजको बैठकले विधानबारे निर्णय गर्ने कांग्रेस नेताको भनाइ छ । 

विधानमा रहेको स्वतः भन्ने शब्द हटाएर पदेन राख्ने तयारी कांग्रेसको छ । 

केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि चयन हुने पूर्ववतः व्यवस्था कायम राख्नु पर्ने संस्थापन पक्षको भनाई र प्रतिनिधि चुनिन तल्लो तहबाटै निर्वाचित भएर आउनु पर्ने संस्थापनइतर पक्षीय नेताको अडानका कारण विधान पारित हुन सकेको छैन । 

यसैबीच उपसभापति निधिले १ गतेको बैठकमा प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुने कांग्रेसको तयारी छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?