ओली अल्पमतमा परेपछि कार्यदल भंग

काठमाडौं–पार्टी एकताको सांगठनिक कामको टुंगो लगाउन गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अधिकार सम्पन्न ९ सदस्यीय कार्यदल भंग भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा शक्तिशाली कार्यदल नै भंग गरिएको हो।
कार्यदलका बहुमत सदस्यले एक साताको समय थपिए आफूहरूलाई दिइएको जिम्मेवारीअनुसार प्रतिवेदन बुझाउने प्रस्ताव राख्दा पनि कार्यदलका संयोजक रामबहादुर थापाले अध्यक्षको निर्देशनमा काम गर्न नसक्ने अडान लिएपछि सचिवालय बैठकले कार्यदल भंग गरेको हो।
स्रोतले भन्यो– अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सचिवालयमा बहुमत सदस्यले कार्यदलको म्याद केही दिन थप गरेर भए पनि काम गर्न दिने पक्षमा अडान लिए पनि कार्यदलका संयोजक थापाले नसक्ने अडान लिँदा कार्यदल भंग गर्ने अवस्था सृजना भएको हो।
सरकार र पार्टीको पनि नेतृत्व लिँदा पार्टी सञ्चालनको काम प्रभावकारी हुन नसकेको ती नेताले बताए। उनका अनुसार संयोजक थापा र महासचिव विष्णु पौडेल प्रदेश कमिटी हेरफेर गर्न तयार नभएपछि कार्यदलको बैठक नै नबस्ने र भंग गर्ने अवस्था आएको हो।
बिहीबार सचिवालय र कार्यदलको संयुक्त बैठकमा कार्यदलका सदस्यहरूले अहिलेसम्म भएको कामको प्रगतिबारे जानकारी गराएका थिए। तर अध्यक्ष ओलीले कार्यदल भंग गर्नुपर्ने प्रस्ताव राखेपछि विवाद उत्पन्न भएको थियो।
आजको नेपाल समाचारपत्र दैनिक लेख्छ–अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण अल्पमतमा पर्दै आएपछि सचिवालय र स्थायी समितिको बैठकमा आफू अनुकूलको निर्णय लिन ओलीलाई निकै कठिनाइ हुँदै आएको बताइन्छ। पार्टी एकीकरण हुँदा १० महिनाअघि ३ महिनाभित्र टुंगो लगाउने घोषणा गरिएको सांगठनिक एकताको काम अझै सम्पन्न हुनसकेको छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?