परराष्ट्रमन्त्री ज्ञवाली आज स्वीटजरल्याण्डको जेनेभा जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज स्वीटजरल्याण्डको जेनेभा जाने भएका छन् ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को चालीसौँ बैठकमा सहभागी हुन आज (शनिवार) परराष्ट्रमन्त्री ज्ञवाली स्वीटजरल्याण्डको जेनेभा जान लागेका हुन् । 

परराष्ट्रमन्त्री ज्ञवाली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साँझ सवा ५ बजे त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

ज्ञवालीको भ्रमण टोलीमा कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी लगायत छन् । 

सोमवारबाट शुरु हुने सभाको बैठकलाई परराष्ट्रमन्त्री ज्ञवालीले मंगलवार सम्बोधन गर्ने कार्यक्रम छ ।

जेनेभा भ्रमणका क्रममा मन्त्री ज्ञवालीले राष्ट्रसंघीय मानवअधिकारका उच्चायुक्त मिशेल बेशलेटसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

यस्तै विभिन्न संयुक्त राष्ट्रसंघीय निकायका प्रमुखहरूसँग भेटवार्ता गर्नुका साथै उनले युरोपेली आणविक अनुसन्धान संगठनको पनि भ्रमण समेत गर्ने जनाइएको छ । 

यसैगरी त्यहाँस्थित गैरआवासीय नेपाली संघले आयोजना गर्ने अन्र्तक्रिया कार्यक्रममा समेत मन्त्री ज्ञवाली सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?