कपिलवस्तुमा महिलाको हत्या

जितपुर । कपिलवस्तुको वाणगङ्गामा एक महिलाको हत्या गरिएको छ । 

वाणगङ्गा नगरपालिका–४ बस्दै आएकी ३२ वर्षीया अनिता पौडेलको शुक्रवार राति हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीका अनुसार मृतक पौडेलको शरीरको निधार र विभिन्न भागमा चोेट देखिएकाले उनको गोली हानी हत्या गरिएको हो या धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो भन्ने कुरा शव परीक्षण रिपोर्टपछि जानकारी प्राप्त हुने बताए । 

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । यद्यपि स्थानीयवासीले पौडेलको गोली हानी हत्या गरिएको दाबी गरेका छन् । स्थानीयका अनुसार उनको पारिवारिक तथा व्यक्तिगत सम्बन्धका कारण हत्या भएको हुनसक्ने बताएका छन् । जग्गाको विषयमा पहिलादेखि नै विवाद रहेको र सोही कारण पनि हत्या भएको हुनसक्ने बताइएको छ । प्रहरीले अहिले घटनाको अनुसन्धान जारी राखेको छ । 

शवलाई कपिलवस्तु सामुदायिक अस्पताल लगिएको र परीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भएको छ । घटनाको बारेमा बुझ्नका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, वाणगङ्गा नगरका उपप्रमुख स्थानीय सामुदायिक अस्पताल पुग्नुभएको थियो । इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक चन्द्र केसीले घटनाको सुक्ष्मरूपमा अध्ययन भइरहेको र चाँडोभन्दा चाँडो हत्याराको पहिचान हुने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?