राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य समितिको विस्तारित बैठक चैत १ गतेबाट राजधानीमा शुरु हुँदैछ । 

राप्रपाका केन्द्रीय सदस्य, ७७ वटै जिल्लाका अध्यक्ष, भातृ संगठनका अध्यक्ष र पार्टीका विभागीय समितिका प्रमुखहरुको सहभागिता रहने उक्त विस्तारित बैठकमा पार्टीले घोषणा गरेको शान्तिपूर्ण जनसंघर्ष, देशको समसामयिक घटनाक्रमलगायतका विषयमा छलफल हुने र आन्दोलनको स्वरुप तय गरिने राप्रपा केन्द्रीय प्रचार विभाग सदस्य शशि भण्डारीले जानकारी दिए ।

फागुन ७ गते प्रधानमन्त्रीलाई  २२ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएर फागुन मसान्तसम्मको बटमलाइन  दिएको राप्रपा चैतको पहिलो साताबाट आन्दोलनमा उत्रिदैछ । हिन्दुराष्ट्रको पुनस्र्थापना, राजसंस्थाको विषयमा सर्वपक्षिय गोलमेच सम्मेलन, संघीयताको खारेजी, भारतसँग भएको १९५० को सन्धि र असमान सम्झौता पुनरावलोकन र खारेजीको मुद्दासहित राप्रपा संघर्षमा जान लागेको भण्डारीले बताए । उनका अनुसार उक्त बैठकबाट केन्द्र, प्रदेश र जिल्लामा गरिने आन्दोलनको स्वरुप समेत तय गरिने बताइएको छ । 

यात्राको समापन काठमाडौमा
त्यस्तै राप्रपाले फागुन १५ गते ताप्लेजुङबाट शुरु गरेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन फाल्गुण ३० गते भृकुटीमण्डपमा गर्ने भएको छ । उक्त समारोहलाई पार्टीका अध्यक्ष लगायत शिर्ष नेता गण र विभिन्न धार्मिक गुरु तथा धार्मिक अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार सदस्य भण्डारीले जानकारी दिए ।

त्यस्तै एक फरक प्रसंगमा राप्रपा समान विचारधारा भएका राजनैतिक पार्टी र संघसंस्थासँग सधैं एकताको पक्षमा रहेको जानकारी दिनुभयो, उहाँले भन्नुभयो– ‘राप्रपा पार्टीको मुलभुत सिद्धान्तप्रति प्रतिबद्ध छ र यसलाई स्विकार गर्ने सबै समुहसँग एकता वा कार्यगत सहकार्यको लागि सदैव तयार छ’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?