चैत २३ गतेदेखि तारुकामा वृहत्त धार्मिक शैक्षिक महोत्सव हुँदै

काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिका–२ मा अवस्थित तारुका श्रीकृष्ण क्याम्पस तथा श्रीकृष्ण माविको आयोजनामा आगामी चैत २३ गतेदेखि ३० गतेसम्म श्रीमदभागवत सप्ताह वृहत्त धार्मिक शैक्षिक महोत्सव गरिने भएको छ । 

क्याम्पसको निम्ति जग्गा खरिद र भवन निर्माणका साथै श्रीकृष्ण माविमा सूचना प्रविधि कक्षा सञ्चालन गर्ने उद्देश्यका साथ सप्ताह तथा वृहद धार्मिक तथा शैक्षिक महोत्सव गर्न लागिएको महोत्सव मूल समारोह समितिका अध्यक्ष समर बहादुर आलेले जानकारी दिए । 

उनका अनुसार सप्ताहमा नेपालकै चर्चित कथाबाचक बालतपस्वी पण्डित उत्तम भट्टले कथा बाचन गर्नेछन् । कृष्ण माविको प्राङ्गणमा चल्ने सो सप्ताह तथा धार्मिक महोत्सवमा हरेक दिन संकेतमय श्रीमदभागवत कथा पितृमुक्ति, शालिग्राम पूजन अर्चना, ब्रतबन्ध तथा तुलसी दानका साथै रुद्री, चौरासी पूजा र जन्मोत्सव पूजा कार्यक्रम समेत गरिने छ । 

आयोजकले सप्ताह सभ्य र भव्य रुपमा सम्पन्न गर्नको लागि १३२ सदस्सीय मूल समारोह समिति नै गठन गरेको छ । 

समितिका सचिव तथा क्याम्पस प्रमुख भरत सिग्देलले उद्देश्यअनुरुप कार्यक्रम सफल पार्न तीव्र रुपमा तयारी चलिरहेको जानकारी दिए । 

सप्ताहका लागि आर्थिक व्यवस्थापन, प्रचार प्रसार, सम्मान तथा अभिनन्दन, स्वयम् सेवक परिचालन तथा सरसफाई, जल प्रसाद व्यवस्थापन, पूजा तथा मण्डप व्यवस्थापन, अतिथि सत्कार, भण्डार आपूर्ति, कार्यालय सञ्चालन, यातायातलगायतको व्यवस्थापनका लागि छुट्टाछुट्टै १९ वटा उपसमिति गठन गरिएको छ । 

प्रचारप्रसार उपसमितिका संयोजक राजेन्द्र न्यौपानेले यस क्षेत्रकै प्रतिष्ठाको रुपमा रहेको क्याम्पसको विकास र विस्तारका लागि दाताहरुको सहयोग महत्वपूर्ण हुने भन्दै अहिले आन्तरिक छलफल, भेटघाट र प्रचारप्रसारमा जुटेको जानकारी दिए । 

क्याम्पस चलाउन उपयुक्त स्रोत नहुँदा आर्थिक अभाव झेल्दै आएको क्याम्पसले सप्ताहबाट संकलन हुने दानबाट केही राहत मिल्ने अपेक्षा लिएको छ । दाताले गर्ने दानअनुसार आयोजकले उचित सम्मानको व्यवस्था समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?