नासिँदै छन् ऐतिहासिक धूपघडी

काठमाडौँ– घण्टाघरको सुई मिलाउनका लागि निर्माण गरिएको धूपघडी अहिले वेवारिसे अवस्थामा छ । धूपघडी त्रिचन्द्र कलेज परिसरमा रहेको घन्टाघरको दक्षिणतर्फ छ । सुईमा परेको घामका आधारमा समय थाहा पाउन घूपघडी प्रयोग गरिन्थ्यो ।  

तेस्रो राणा प्रधानमन्त्री वीर शमशेरले निर्माण गर्न लगाएको घन्टाघरको सुई बेलाबखत बिग्रिएपछि मर्मत गरिन्थ्यो र मर्मतपछिको सही समय जनाउन तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले विदेशी धूपघडी त्यहाँ राख्न लगाएका थिए ।


ADVERTISEMENT

इतिहास बनेको धूपघडीको तामाको सूई बेपत्ता छ भने घडीमाथि ढुङ्गाले हानेर कुच्याइएको छ । सो घडीले नेपालको समयमात्र जनाउँदैनथियो, काठमाडौँ र कलकत्ता, ग्रिनविच तथा मोन्ट्रियलबीचको समय फरक एवं हरेक महिनामा फरक पर्ने समयका बारेमा पनि जानकारी दिन्थ्यो ।  

नेपाल सरकारका अवकास प्राप्त सहसचिव प्रकाशराज पाण्डेले आफूहरू त्रिचन्द्र कलेजमा अध्ययन गर्दा धूपघडी हेरेर समय थाहा पाउने गरेको स्मरण गरे । “त्यसबेला सबैका हातमा घडी हुन्थेन” उनले भने, “घन्टाघरको सुई हेरेर समय थाहा पाउनुपथ्र्यो । घन्टाघरको घडीले ठिक समय जनाएको छ कि छैन भनेर धूपघडी हेथ्र्यौँ । ठ्याक्कै मिल्थ्यो ।”
काठमाडौँका पुराना रैथानेले धूपघडीलाई सौर्यघडी, सूर्यघडी वा छाँयाघडी पनि भन्ने गरेको पाइन्छ । चन्द्र शमशेरले सन् १९११ मा घन्टाघर सँगैको धूपघडी निर्माण गर्न लगाएका थिए ।
त्यहाँ संगमरमरमा ‘महाराज मेजर जनरल चन्द्र शमशेर जबरा’ ले धूपघडी राख्न लगाएको लेखिएको छ । पहिले घाम उदाएदेखि नअस्ताउञ्जेलसम्म धूपघडीमा समय हेर्न सकिन्थ्यो, तर अहिले सँगै निर्माण भएको मस्जिद र सडकपारिको प्रहरी भवनले गर्दा दिनभरिमा पूरा समयसम्म घूपघडीमा घाम पुग्न सक्दैन ।
पुरातत्वविद् प्रकाश दर्नालले हनुमानढोका दरबारको नासलचोक र भक्तपुर दरबारको तलेजु चोकमा पनि घूपघडी भएको बताउँदै ती मल्लकालीन भएको दावी गरे । स्वयम्भूमा पनि धूपघडी छ । गोरखापत्र दैनिककमा समाचार छापिएको छ ।

Leave a comment