देउवा निवास बूढानीलकण्ठमा बसेको बैठक निष्कर्षविहीन

काठमाडौं– सोमबारका लागि तय भएको केन्द्रीय कार्यसमिति बैठकअघि सहमतिको प्रयासस्वरुप काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको बैठक निष्कर्षविहीन भएको छ ।
देउवाले आफ्नै निवास बूढानीलकण्ठ पदाधिकारी, पूर्व पदाधिकारी तथा शीर्ष नेताहरुको अनौपचारिक बैठक बोलाएका थिए ।
बैठकमा पार्टीको अनुशासन समिति, निर्वाचन समिति, नेविसंघको नेतृत्व चयन तथा विभाग गठन लगायतका विषयमा छलफल भएको भएपनि कुनै सहमति नभएको नेता अर्जुन नरसिंह केसीले जानकारी दिए ।
बैठकमा केसीले निर्वाचन समिति डीएलएको नेतृत्वमा गठन गर्न प्रस्ताव गरेका थिए । तर, सो प्रस्तावमा सहमति जुट्न नसकेको बताइएको छ ।
केसीका अनुसार सोमबार बैठकअघि फेरि बसेर सहमति खोज्ने प्रयास हुनेछ ।
बैठकमा केसीसहित पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत लगायतका नेताहरु उपस्थित थिए भने कृष्ण सिटौला सहभागि भएनन् ।

अनुशासन र निर्वाचन समिति गठन सहमतिबेगर गर्नु खोजे वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले केन्द्रीय कार्यसमित बैठक नै बहिस्कार गर्ने चेतावनी दिँदै आएका छन् ।
यस्तो अवस्थामा अब भोलिको बैठक के हुने भन्नेमा चासो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?