फोरम नेपालसँग वार्ता गर्न राजपा नेपालले गठन गर्यो वार्ता समिति

काठमाडौं । संघीय समाजवादी फोरम नेपालसँग वार्ता गर्नका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले वार्ता समिति गठन गरेको छ । 

फागुन २९ गतेदेखि चैत १ गतेसम्म ह्यात होटलमा बसेको राजपा नेपालको गोप्य बैठकले यो निर्णय गरेको हो । चैत १ गते फोरम नेपाललगायत विभिन्न दलसँग वार्ता गर्नका लागि राजेन्द्र महतोलाई संयोजक तोकेको थियो तर सो वार्ता समिति चैत ५ गते मात्र पूर्णता पायो । 

वार्ता समितिमा संयोजक महतो रहेका छन् भने अन्य सदस्यहरुमा वृषेशचन्द्र लाल, रमेश यादव, सुनिल रोहित र केशव झा रहेका छन् ।

फोरम नेपालले मंसिर २३ गते केन्द्रीय समितिको बैठकबाट पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । वार्ता समिति गठन गरेपनि हालसम्म राजपा नेपालसँग औपचारिक वार्ता भएको छैन । 

फोरम नेपालले वार्ता समिति गठन गरेको कुरा आफूहरुलाई औपचारिक जानकारी नआएको राजपा नेपालले प्रतिकृया दिएपछि फोरम नेपालले एक महिनाअघि औपचारिक पत्र नै पठाएको थियो । सो पत्रको आधारमा नै राजपा नेपालले आफ्नो तर्फबाट पनि वार्ता समिति गठन गरेको हो । स्रोतका अनुसार राजपा नेपालले फोरम नेपाललाई वार्ताका लागि पत्र पनि पठाएको छ ।

यसैबीच अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवको संयोजकत्वमा प्रदेश सरकार संयोजन समिति पनि गठन गरेको छ । सो समितिमा यादवसहित मृगेन्द्रकुमार सिंह यादव, गज्जाधर यादव र डा. विजय सिंह गरी पाँचजना रहेका छन् । 

अनिल कुमार झाको संयोजकत्वमा स्थानीय तह संयोजन समिति समेत गठन गरेको छ, सो समितिमा झा सहित मनिष सुमन, सीपी सिंह, गजेन्द्रकुमार मण्डल, सुरेश सिंह, नवकिशोर सिंह, मैथुर चौधरी, मनोज यादव र दीपककुमार रहेका छन् । त्यसैगरि, राजकिशोर यादवको संयोजकत्वमा केन्द्रीय प्रशिक्षण विभाग गठन गरेको छ ।

सो विभागमा सदस्यको रुपमा  जितेन्द्र सिंह, शिवप्रसा पटेल, हरेन्द्र यादव, सन्तोष मेहता रहेका छन् । यो विभागले राजनीतिक सम्बन्धि प्रशिक्षण दिने संघ संस्था समेतसँग प्रशिक्षणका लागि सम्पर्क गर्नेछ ।

प्रदेश २ को सरकारको नीति तथा कार्यक्रममा प्रदेशको गौरवको योजनाहरु पहिचान गर्ने र प्राथमिकताका साथ अगाडि बढाउन प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गर्नुको साथै राजपा र फोरमको संयुक्त बैठक गरी प्रदेश २ को सरकारको साझा न्युनतम कार्यक्रम बनाउन पहल गरिने निर्णय समेत गरेको छ । 

अनिल झा नेतृत्वको समितिले राजपा नेपालको नेतृत्व एवं प्रतिनिधित्व रहेको र समग्र प्रदेश २ भित्रका स्थानीयहरु र स्तरका निर्वाचित एवं अनय सरकारी निकायहरुसँगको सहकार्यमा सहजताका लागि संयोजन गर्ने समेत बैठकले निर्णय गरेको छ । 

त्यसैगरि, चक्रिय प्रणाली अनुसार अध्यक्षमण्डलको संयोजकमा शरतसिंह भण्डारीलाई नियुक्त गरेको छ । दुई दुई महिनामा अध्यक्षमण्डल संयोजक फेर्ने प्रावधान अनुसार भण्डारी संयोजक बनेका हुन् । बैशाखमा महाधिवेशन भएन भने उनी जेठ ५ गतेसम्म संयोजक रहनेछन् । त्यसपछि अनिल झा र राजकिशोर यादव दुई दुई महिनाका लागि संयोजक बन्नेछन् ।

त्यस्तै, यसअघि अनियमिताका आरोपमा एकैपटक १३ जना कर्मचारीलाई निष्काशन गरेको मध्ये तीनजनालाई पुनः कर्मचारीमा नियुक्त गरेको छ । तीनजना पुरानै कर्मचारी रहेका छन् भने दुईजना नयाँ गरी पाँचजना कर्मचारी नियुक्त गरेको छ । त्यसैगरि, महासचिव विनोद सिंहलाई सचिवालय सदस्यमा नियुक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?