राष्ट्रियता र लोकतन्त्र कमजोर हुने विषयमा जनमत सङ्ग्रह गर्न सकिँदैन : नेता पौडेल

सिन्धुली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको बताएका छन् । सरकार बहुमतको आडमा शक्ति केन्द्रीकरण गर्न अग्रसर भएकाले यसको प्रतिवाद गरिने उनले बताए । 

नेपाल प्रेस युनियन सिन्धुलीले आज (शनिवार) सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले अहिलेको सरकार एक वर्षको अवधिमा पूर्ण असफल भएको बताए । “ठूला आयोजना, सेनाको अधिकार र न्यायिक निकायको अधिकार आफ्नो साथमा लिँदा लोकतन्त्र नै खतरामा परेको छ”, उनको भनाइ छ । शान्ति, सुरक्षा, सुशासन, विकास र समृद्धिका आधारमा सरकार असफल भएको उनको आरोप छ । 

विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाउनु गलत भएको नेता पौडेलको भनाइ थियो । “कुनै पनि समूहलाई दवाबमा राख्न खोजे मुलुकमा शान्ति र लोकतन्त्र खतरामा पर्ने भएकाले सरकारले यस कदममा पुनःविचार गर्नुपर्छ”, उनले भने । राष्ट्रियता र लोकतन्त्र कमजोर हुने विषयमा जनमत सङ्ग्रह गर्न नसकिने उनले बताए । नेपाली काङ्ग्रसले आइतवारदेखि ‘मधेश सम्वाद अभियान’ सञ्चालन गर्न लागेको नेता पौडेलले बताए ।

काङ्ग्रेस प्रमुख प्रतिपक्षी दल भए पनि संस्थागत रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको उनको भनाइ थियो । आफूले अहिले पार्टी नेतृत्वभन्दा पनि पार्टीमा देखिएको गुटको अन्त्य र पार्टीलाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो । “समय आए नेतृत्व लिन तयार छु”, नेता पौडेलले भने । 

पश्चिमका जिल्लाको एकसाता लामो भ्रमण सकेलगत्तै नेता पौडेल हिजो (शुक्रवार)बाट पाँच दिने तराई–मधेश भ्रमण निस्केका हुन् ।

पौडेल सिन्धुली, सर्लाही, महोत्तरी र धनुषालगायतका विभिन्न जिल्लामा कांग्रेसका कार्यक्रममा सहभागि हुने कार्यक्रम तय भएको छ । 

पौडेलका स्वकिय सचिव चिरञ्जीवी अधिकारीका अनुसार पौडेलले चैत १३ गतेसम्म पूर्वका जिल्ला भ्रमणमा निस्किएका हुन् ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?