नेपाल र जापानबीच आज एमओसीमा हस्ताक्षर हुँदै, छुट्टै संयन्त्र बनाएर कामदार छनोट गरिने

काठमाडौं । नेपाल र जापानबीच आज (सोमवार) एमओसीमा हस्ताक्षर हुने भएको छ । 

नेपाली कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ (एमओसी)मा आज दुई देशबीच हस्ताक्षर हुने भएको हो । मध्याह्न १२ बजे होटल हिमालय, कुपण्डोलमा एक कार्यक्रमबीच हस्ताक्षर हुने भएको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार जापानसँग मार्च महिनाभित्रै एमओसीमा हस्ताक्षर गर्ने योजना थियो । त्यसअनुरुप आज हस्ताक्षर हुन लागेको मन्त्रालयले जनाएको छ । 

त्यस्तै सहमति जुटेको मस्यौदालाई मन्त्रिपरिषदले पारित गरेर सचिव महेश दहाललाई सम्झौता गर्ने जिम्मेवारी दिएको छ ।

यो समझदारी पत्रमा हस्ताक्षरपछि नेपालबाट जापानमा कामदार पठाउने प्रक्रिया शुरु हुनेछ । जसका लागि जापान पठाउन श्रम मन्त्रालय अन्तर्गत छुट्टै इकाई खडा हुनेछ ।

योसँगै अब म्यानपावर व्यवसायी जापानमा कामदार पठाउने प्रक्रियाबाट अलग हुने भएको छ । 

नेपाल र जापान सरकारले कोरियाको जस्तै छुट्टै संयन्त्र बनाएर कामदार छनोट गरी पठाउने व्यवस्था गर्नेछन् ।

दुवै पक्ष कामदार लैजाने विधि, प्रक्रिया, कामदारको सेवा, सुविधा, सुरक्षा लगायतका विषयमा टुंगोमा पुगेका हुन् ।

मन्त्रालय स्रोतका अनुसार नेपाली कामदारको सेवा सुविधा जापानकै नागरिक सरहको हुने छ ।  

लागतको विषय भने नेपालले जापानसँग कामदार आपूर्ति प्रक्रियामा म्यानपावर लगायतका बिचौलिया संयन्त्रलाई सहभागी नगराउन र शुन्य लागतमै कामदार लैजाने व्यवस्था गर्न अनुरोध गरेको छ । 
अप्रिल महिनाबाटै कामदार लैजाने प्रक्रियाका लागि तयारी सुरु हुने मन्त्रालयले जनाएको छ । 

आज दुई देशबीच समझदारी भएपछि भाषा परीक्षा र सिप परीक्षण, कामदार छनोट प्रक्रियाको शुरु गरिने छ ।

पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार विदेशी कामदारलाई १४ वटा औद्योगिक क्षेत्रमा काम गर्न अनुमति दिने सरकारको योजना छ । ती क्षेत्रमा नर्सिङ केयर, निर्माण, होटल, कृषि, मत्स्यपालन लगायत छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?