विप्लवलाई हेर्ने नजरमा सरकारका मन्त्रीबीच पनि मतभेद

 काठमाडौं – सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई प्रतिबन्ध लगाएको छ। तर उसलाई हेर्ने दृष्टिकोणमा सत्तारुढ दलभित्रमात्र होइन, सरकारमा सहभागी मन्त्रीबीच पनि मतभेद देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच नै चन्द नेतृत्वको समूहप्रतिको दृष्टिकोण बाझिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई वार्तामा आउन चैत महिनाभरको समय दिएका छन्। उनले सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठकमा विप्लव समहूलाई संवादमा आउन यही चैत महिनाको समय दिइएको जानकारी दिए। तोकिएको समयमा वार्तामा नआए नियन्त्रण गर्ने दाबी उनको थियो। प्रधानमन्त्री ओलीले संसदीय बैठकमा यस्तो बताइरहँदा उता विराटनगरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हतियार बुझाएमात्र विप्लव समूहसँग वार्ता हुनसक्ने अभिव्यक्ति दिएका छन्। रक्षामन्त्री पोखरेलले विप्लव समूहसँग वार्ताको कुनै सम्भावना नरहेको पनि दाबी गरे। विप्लव समूहले हतियार बोक्ने र बम पड्काउने काम जारी राखेकाले तत्काल वार्ताको सम्भावना नरहेको उनको भनाइ थियो। नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?