बुङ्गलमा बौलाहा स्यालको टोकाइबाट ११ जना घाइते

बुझाङ । बझाङको बुङ्गल नगरपालिकामा स्यालको आतङ्क देखिएको छ ।

एघार जनालाई स्यालले टोकेर घाइते बनाएको छ । दिउँसो बाटोमा हिँडिरहेका बेला बुङ्गल नपा–८ को जल्जली र दासापा भन्ने ठाउँमा स्यालले सात जनालाई टोकेर घाइते बनाएको छ । घाइतेमध्ये केहीको उपचार बुङ्गल नगरपालिका र केहीको जिल्ला अस्पताल सिमखेत चैनपुरमा भइरहेको छ । 

यसअघि स्यालको टोकाइबाट सोही ठाउँमा घाइते भएकी सुना ऐडीको अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ भने बौलाहा कुकुरको टोकाइबाट दुई बालबालिका घाइते भएका छन् । घाइतेमध्ये एकको मुखमा टोकेकाले जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि कोहलपुर रिफारिश गरिएको जिल्ला अस्पताल सिमखेतले जनाएको छ । स्यालले पशुचौपायालाई पनि टोक्ने गरेको छ । 

बुङ्गल नगरपालिकामै दुई बाख्रा, दुई गाई र एक भैँसीलाई स्यालले टोकेको छ । एक महीनाअघि बुङ्गल नपा–६ झापामा स्यालकै टोकाइबाट चार घाइते भएका थिए ।

करिब एक महीनादेखि स्याल र बौलाहा कुकुरको आतङ्क बढेपछि बालबालिकालाई एक्लै विद्यालय पठाउन र आफूलाई समेत जान डर लाग्ने गरेको बुङ्गल नगरपालिका–५ का स्थानीय वीरबहादुर भण्डारीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?