ट्रकको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

रत्नगर ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको खैरहनी नगरपालिका– १ ज्यामिरेमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आज बिहान करीब साढे ९ बजे पूर्वदिशाबाट आइरहेको ना४ख ९९८१ नं को ट्रकले विपरीत दिशामा गइरहेको ग१४प ५५७२ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुली जिल्ला जुगेडी नगरपालिका-८ का ४० वर्षीय होमबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार मृतक होमबहादुरकी ३० वर्षीया श्रीमती कोमली मगर र आठ वर्षीय छोरा लीलाबहादुर पुलामी दुर्घटनामा घाइते भएका छन् । उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेज (सिएमएस) मा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए । 

घाइतेको अवस्था सामान्य छ । ठक्कर दिने ट्रकका चालक ट्रकसहित फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?