आँधीको अत्यासमा पीडित : सहयोग गर्ने भन्दा रमिता हेर्नेको भिड, राहत दिएनन् गिज्याएमात्रै

वीरगञ्ज । आइतवार साँझ काठमाडौं उपत्यकासहित देश भर आँधीहुरीसहित असिना पानी पर्यो । तर, त्यस दिन आएको आँधीले तराई–मधेशको बारा र पर्सामा भने वितण्डा नै मच्यायो । पक्की घरहरुसमेत उडायो । यात्रा गरिरहेका मानिसहरुलाई सडक छेउमा रहेको खेतमा पुर्यायो । ३१ जनाले ज्या गुमाए । ५ सयभन्दा बढी घाइते भए । १८ सय ९५ घरधुरीमा क्षति पुग्यो । ९ सय ४० घरधुरी पूर्णरुपमा ध्वस्त भए । जसमा तीनवटा इँटा उद्योग र एक स्वास्थ्य चौकी समेत परेको छ । साथै ९ सय ५५ घरधुरी भने आंशिक क्षति मात्रै पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ ।
हजारौँ मानिस घरवारविहिन भए । यो आँधीबेहरीले झण्डैझण्डै २०७२ वैशाख १२ गते गएको महाभूकम्पको याद दिलायो । 

बारा र पर्सा जिल्ला तहसनहस भयो । विनाशकारी आँधीले बाराको फेटा गाउँपालिका वडा नम्बर १,३, ६ र ७ को भलुही, परैनिया र भलवरीयामा सबैभन्दा बढी क्षति पुर्यो । 

यस कहाली लाग्दो समयमा सबैले सहयोगको हात अघि बढाइ रहेका छन् । तर, पनि कतिले राहतको नाममा आफ्नो नामको प्रचारप्रसार गरिरहेको पाइयो भने कति रमिते बने । त्यहाँको परिदृश्य हेर्दा लाग्छ कुनै प्रहसन चलिरहेको छ ।  

आँधीले ध्वस्त बनाएको फेटा गाउँपालिकाका पुरनिया, भलवरीयालयातका गाउँमा अचेत सडक नाटक मञ्च भएजस्तो सबैको हातमा स्माट फोन देखिन्छ जुन फोटो र दर्दनाक भिडियो खिच्न व्यस्त छ । 

भग्नावशेष अगाडि आफ्नो कर्तव्य निभाइ रहेका सुरक्षा निकायका अगाडी ठिङ्ग उभिएर भिट्री पोजमा फोटो खिच्नेहरुसमेत देखिए । 

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै विपत्तमा बेला सहयोग, उद्धारभन्दा रमितेको संख्या बढ्न थालेको छ ।  

आँधी प्रभावित क्षेत्रमा भीआईपीको आवागमन हुने वित्तिकै स्थानीय मोवाइल निकालेर सेल्फी खिच्ने र लाइभ गर्न शुरु गरिहाल्छन् ।  

प्रभावित क्षेत्रमा सुरक्षाकर्मीहरुले घरका भग्नावशेषहरु पन्छाइरहँदा ‘रमिते’हरु छेउमा उभिएर मोबाइलले तस्वीर र भिडियो खिच्न व्यस्त छन् । सुरक्षाकर्मीलाई सघाएर आफूपनि आफ्नै लागि आवास निर्माण गरौँ भन्ने  चेत कहीले आउला कुन्नी ?  

पीडितहरु आफ्नो आफ्नो पीडिमा डुबीरहेका छन् भने सहयोग गर्ने नाममा आएका आम मानिसहरु त्यहाँको दृश्य मोबाइलमा कैद गर्न भिडन्तनै खेल्छन् । त्यहाँको यस्तो दृश्यले सहयोग गर्न बाहिरि जिल्लाहरुबाट आएका स्वयंसेवकहरुलाई झनै जटिलता सृजना उत्पन्न गराइरहेको छ । 

राहत बाढ्न र पुर्नस्थापना गर्न थप समस्या थपिएको त छँदै छ राहत पनि पीडितहरुले पाएका छन कि छैन त्यसमा पनि शंका उत्पन्न हुन थालेको छ । त्यसैले त समाचार सुनिएको छ, त्रिपाल घरबारविहिनले हैन पक्की घर वालाले पाए । 

पीडितको गुनासो

स्थानीय ७५ वर्षीया तसलिमा खातुनका ४० वर्षीया छोरी मुस्कीमा खातुन र छोरीकी २० वर्षीया गुलाबसा खातुनको एउटै चिहान भए पनि उनलाई अहिलेसम्म कतैबाट भरपर्दो राहत र क्षतिपूर्ति उपलब्ध नहँुदा पीडा झन् बल्झिएको छ । 

तीन महीनाको दूधेबालकलाई काखमा च्यापेर चर्को घाममा आफ्नो भत्केको घर नियाल्दै ३५ वर्षीया नुरजाहा खातुनले बिलौना गर्दै भछिन्, “काखे बालक पटकपटक दूध खान रोइरहेका छन् तर राहत नपाउँदा दूधेबालकसहित पाँच वर्षको छोरालाई बचाउन गाह्रो परेको छ ।”

हावाहुरीले खातुनको घर उडाउँदा घाइते भएका ६० वर्षीय ससुरा कमरुल अन्सारी, ४० वर्षीय पति हदिस अन्सारी र नौ वर्षका छोरा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार गराइरहेकाले बालकलाई लिएर राहत लिन कहाँ जाने भन्ने चिन्ताले सताइरहेको छ । 

हावाहुरीबाट पीडित फेटा गाउँमा अहिले राहत वितरण गर्ने सङ्घसंस्थाको सङ्ख्या बढ्दै गए पनि वास्तविक पीडित भने राहत पाउनबाट वञ्चित देखिन्छन् । 

“नत ओत लाग्ने ठाउँ छ नत खानेपानी र शौचालयको व्यवस्था छ, पीडित त महामारीको चपेटामा पर्ने सम्भावना बढेर गएको छ”, जमियत उल्माए नेपालका महासचिव मोहम्द खालिद सिद्धिकीले भने, “हावाहुरीले पीडित भएकाको घरमा नत झुल नै छ नत खानेपानीको भरपर्दो व्यवस्था छ, पीडित समुदायको जीवन झन कष्टकर बन्दै गएको छ ।”

एकद्वार प्रणालीअनुसार राहत वितरण नहुँदा पीडित बढी आहत भएका छन् । पीडित बस्तीको निरीक्षणपश्चात् कुरा गर्दै नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का सभापति दीपेन्द्र चौहानले भने, “राहत वितरण प्रक्रिया गलत भएको छ, नेताले राहत भन्दा आहत दिने गरेको तथा नेता हुल बाँधेर गाउँमा पस्दा धुलो उडेर पीडितको स्वास्थ्यमा असर पर्ने गरेको छ ।”  

भिषण हावाहुरीबाट प्रभावित पीडितलाई राहत र पुर्नस्थापनामा गम्भीर समस्या देखिएको छ । “गाउँभरि पालैपालो भीड लिएर नेता आउँछन् राहतका ठूलठूला घोषणा गर्छन्, राहत वितरण क्याम्प खडा गर्छन् तर राहत नदिएर हामीलाई गिज्याउने काम मात्र गर्छन्”, फेटा गाउँपालिका–६ पुरैनियाका लैस मिया भन्छन्, “मान्छे नै मान्छे गाउँभरि छन् तर राहतको नाउँमा पाए पनि चिउराबाहेक केही छैन ।” 

राहत वितरणमा देखिएको समस्याबारे प्रमुख जिल्ला अधिकारीको भनाइ यस्तो छ 

राहत वितरणमा देखिएको समस्याबारे बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले राहत वितरण प्रक्रिया अव्यवस्थित भएपछि वास्तविक पीडितको लगत खडा गरी फेटा गाउँपालिकामार्फत् राहत वितरण गर्ने व्यवस्था मिलाइएको बताउँछन् ।  

विनाशकारी हावाहुरीले सबभन्दा बढी फेटा गाउँपालिका वडा नं १, ३, ६ मा सबभन्दा बढी धनजनको क्षति भएको गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले जानकारी दिए । उनले भने, “मापदण्ड पु-याएर निर्माण नगरेका पक्की भनिएका घरमा इँटाले थिचिएर अधिकांशको मृत्यु भएकाले अब निर्माण हुने संरचना मापदण्ड पु-याएर निर्माण गरिने छन् ।” 

दुई वर्ष वैदेशिक रोजगारको क्रममा कतारमा रही कमाएको रकमबाट गाउँमा पक्की घर निर्माण गरेका पुरैनियाका सहाबुद्धिन अन्सारी भन्छन्, “हावाहुरीले त्यही पक्की घरमा थिचिएर आमा, श्रीमती र दुई छोरीले ज्यान गुमाउँदा मैले सबैथोक गुमाउनु परेको छ, कसैको घर छैन, कसैको परिवार छैन, कसैको खाने बस्ने, ओढ्ने, ओछ्याउने व्यवस्था नहुँदा ओतलाग्न समस्या छ ।” मङ्गलबार साँझसम्म बारा र पर्सामा गरी ३० को मृत्यु भएको छ भने करीब ७ सयभन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?