कलिङ भिसा : चार दिनमा ६४ ले लिए मलेशियाका लागि श्रम स्वीकृति

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेशिया जाने कामदारका श्रम स्वीकृति खुला गरेपछि चार दिनमा ६४ ले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् ।

सरकारले यही चैत १७ गतेदेखि खुला गरेपनि कार्यालयले भने २५ गतेबाट श्रम स्वीकृति दिन थालेको कार्यालयका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिए । “सरकारले खुला गरेपछि मलेशिया जाने नेपाली कामदारलाई केही राहत मिलेको छ”, उनले भने । सरकारले जेठदेखि मलेशिया जाने कामदारलाई श्रम स्वीकृति दिन रोक लगाए पनि कामदार भने जान नछाडेको उनले बताए । 

मलेशियाबाट सात हजार ५०० ले कलिङ भिसा पाइसकेका छन् । भिसा पाएका सम्पूर्ण कामदारलाई नियमितरूपमा श्रम स्वीकृति दिइने उनले बताए । श्रम कार्यालय ताहाचलले १७ गते नै कामदार पठाउन अनुमति पाएको भए पनि २५ गतेबाट मात्र श्रम स्वीकृति दिन शुरु गरेको थियो । जसमध्ये पहिलो दिन २५ गते दुईले श्रम स्वीकृति लिएका थिए । त्यस्तै २६ गते १७, २७ गते सात र २८ गते ३८ जनाले श्रम स्वीकृति लिइसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?