गृहमन्त्री थापा भन्छन्, ‘ध्वंसात्मक गतिविधि नरोकेसम्म विप्लवसँग वार्ता हुँदैन’

हेटौँडा । सरकारले ध्वंसात्मक गतिविधि गर्ने र मुलुक एवं संविधानका विरोधमा काम गर्ने जो कोहीलाई पनि नछाड्ने बताएको छ । 

मंगलवारदेखि जारी प्रदेश ३ को  सुरक्षा गोष्ठीको उद्घाटन गर्न बुधवार प्रदेश ३ को राजधानी हेटौँडा पुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सो कुरा बताएका हुन् । 

देशको सुरक्षास्थितिलाई मजबुत बनाउँदै लगेको दाबी गर्दै गृहमन्त्री थापाले तस्करी र गुन्डागर्दीलाई नियन्त्रण गर्न सफल भएको बताए । 

साथै उनले नेत्र विक्रम चन्द समूहलाई वार्तामा ल्याउन सरकारले प्रयास गरेपनि वार्तामा आउनुका सट्टा ध्वंसात्मक गतिविधि जारी नै राखेकाले नियन्त्रणमा लिएको बताए ।

‘ध्वंसात्मक गतिविधि बन्द नगरेसम्म त्यस्ता समूहसँग सरकारले वार्ता गर्देन, गृहकन्त्री थापाले भने, ‘ध्वंसात्मक गतिविधि गर्नेहरुलाई नियन्त्रण गर्ने कार्य सफलता मिल्दै गएको छ ।’ 

मंगलवारदेखि हेटौंडामा प्रदेश—३ का १३ वटा जिल्ला सुरक्षा निकाय प्रमुखहरु सुरक्षाको अवस्था र चुनौती बारे छलफल गरिरहेका छन् । 

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्राध्यापक डाक्टर इन्द्रजित राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, ससस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धानका निर्देशक गणेश अधिकारी, मध्यपृतना हेडक्वाटर हेटौँडाका पृतनापति उपरथी सुवर्णबहादुर शाहसहित गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदी, राष्ट्रिय परिचयपत्र विभागका दिपक काफ्ले र सहसचिव इन्दु घिमीरे लगायतकाको सहभागिता रहेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?