प्रदेश ३ का मुख्यमन्त्री पौडेलद्वारा एक करोडको चेक मुख्यमन्त्री राउतलाई हस्तान्तरण

जनकपुरधाम । बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावितको लागि प्रदेश नं. ३ मुख्यमन्त्री डोरमणी पौडेलले एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् । 

प्रदेश ३ का मुख्यमन्त्री पौडेल आज (बुधवार) मध्यान्ह प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री राउतलाई एक करोडको चेक हस्तान्तरण गरेका हुन् । 

गत वर्षको चैत १९ गते बारा र पर्सा जिल्लामा भीषण हावाहुरीका कारण २८ जनाको ज्यान गएको थियो भने एक हजार बढी घाइते भएका थिए ।

हावाहुरीबाट प्रदेश २ को बारा र पर्सा जिल्लामा जनधनको ठूलो क्षति भएपछि प्रदेश ३ सरकारले राहत स्वरुप एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।

चेक बुभ्mदै प्रदेश २ का मुख्यमन्त्री राउतले विपतको बेला सहयोग गरेकोमा प्रदेश ३ का मुख्यमन्त्री र प्रदेश सभालाई धन्यवाद ज्ञापन गरेका छन् । 

उता चेक हस्तान्तरण गर्दै प्रदेश ३ का मुख्यमन्त्री पौडेलले विपतको बखत एकअर्कालाई सहयोग गर्ने सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे  ।

विपतमा आआफनो स्थानबाट एकअर्कालाई सहयोग गर्नुपर्ने संदेश मुख्यमन्त्री पौडेलले दिनुभएको छ ।

यसअघि प्रदेश ३ का मुख्यमन्त्री पौडेल बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण पनि गरेका थिए । 

प्रदेश ३ का सांसदहरुको तीन दिनको तलब बराबर चार लाख ६९ हजार ५० रुपैयाँ मुख्यमन्त्री राहत कोषमा जम्मा गरेको छ ।

बैंकमा जम्मा गरेको भौचर प्रदेश ३ की उपसभामुख राधिका तामाङले मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरेकि थिइन् । 

मुख्यमन्त्री पौडेलसँगै उपसभामुख तामाङ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रमेश सिवाकोटी, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशल किशोर झा, प्रदेश २ का मुख्यन्यायधिवक्ता दीपेन्द्र झा, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव कोमल खत्री लगायतको उपस्थिति रहेका थिए 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?