नेविसंघमा ५ गुटको कार्यक्रम

काठमाडौँ – कांग्रेस भ्रातृ संगठन नेविसंघको स्थापना दिवस मनाउन शुक्रबार पाँचवटा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएका छन् । पार्टीभित्रका विभिन्न गुटमा विभाजित विद्यार्थी नेताहरूले छुट्टाछुट्टै कार्यक्रम राखेका हुन् ।

कांग्रेस संस्थापन पक्षले संघको काठमाडौं कार्यसमितिको आयोजनामा स्थापना दिवस मनाउने निर्णय गरेको थियो । ऊक्त कार्यत्रम सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पार्टी पदाधिकारी, संघका पूर्वअध्यक्षहरूसमेतको उपस्थितिमा मनाउने प्रचार गरिएको थियो । राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रममा सभापति देउवा एकैछिन बसेर बाहिरिए । वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उपस्थित नै भएनन् ।

वरिष्ठ नेता पौडेलनिकट विद्यार्थी नेता भने कार्यक्रममा उपस्थित भएलगत्तै बाहिरिए । आफ्नो पक्षका नेताहरूलाई मञ्चमा नबोलाइएको भन्दै पूर्वमहामन्त्री मनोजमणि आचार्य, दीपक भट्टराई, मनहरि श्रेष्ठ, प्रतिमा गौतम, मोती भण्डारीलगायत विद्यार्थी नेताको समूह कार्यक्रम बहिष्कार भन्दै निस्कियो । ‘मनोजमणि नेतृत्वको टोलीलाई मञ्चमा नबोलाइएकाले बहिष्कार गरेका हौं,’ भण्डारीले भने ।

संघका काठमाडौं जिल्ला कार्यसमिति अध्यक्ष मनोज वैद्य पूर्वमहामन्त्री प्रकाशमान सिंहनिकट हुन् । केन्द्रीय कार्यसमिति नभएपछि पार्टीले काठमाडौं जिल्ला कार्यसमितिकै आयोजनामा स्थापना दिवसको औपचारिक कार्यक्रम गर्ने निर्णय लिएको थियो । तर, देउवानिकट विद्यार्थीले प्रज्ञा भवनमा छुट्टै कार्यक्रमसमेत गरे ।

प्राविधिक विद्यार्थी परिषद् ९फोर्स० को आयोजनामा प्रज्ञा भवनमा आयोजना गरिएको कार्यक्रममा सभापति देउवानिकट पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाह, निवर्तमान महामन्त्री सरोज थापा, राजीव ढुंगानासहितका विद्यार्थी नेताको उपस्थिति थियो । पार्टी नेताहरू भने गएनन् । कान्तिपुर दैनिकमा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?