राष्ट्रपति भण्डारी आज चीन जाँदै

काठमाडौं । राष्ट्रपति विद्यावेदी भण्डारी आज (बुधवार) चीन जाँदैछिन् । 

साताव्यापी चीन भ्रमणका लागि राष्ट्रपति भण्डारी आज चीन जान लागेकि हुन् । राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि रहेका छन् । 

बेइजिङमा दोस्रो पटक आयोजना हुन लागेको बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनमा राष्ट्रपति भण्डारी सहभागी हुने छिन् ।

उनी बिहान १० बजे शीतलनिवासबाट अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गर्नेछिन् । 

राष्ट्रपति भण्डारी शीतलनिवासबाट भाटभटेनी, ल्होत्से चोक हुँदै एयरपोर्ट पुग्ने सवारीको रुट निर्धारण गरिएको छ ।

चीन भ्रमणका क्रममा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता हुने कार्यक्रम तय भएको छ । 

सो क्रममा केही सम्झौतामा हस्ताक्षर समेत हुने बताइएको छ ।

परराष्ट्र मन्त्रालयको अनुसार राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय बागवानी सम्मेलनमा सहभागी हुने र नेपाली स्टलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको जनाएको छ । 

यसक्रममा बेइजिङमा आयोजना हुने नेपाल र चीनका व्यापारिक समुदायको संयुक्त बैठकलाई पनि राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति भण्डारी शान्जी प्रान्तको राजधानी जियानको भमण गर्ने र ल्हासा हुँदै स्वदेश फर्किने जारी विज्ञप्तिमा उल्लेख छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?