आज आमाको मुख हेर्ने दिन : जन्मदिने आमाप्रति श्रद्धा आदर प्रकट गरी मनाइँदै

काठमाडौं । देशभर आज (शनिवार) मातातिर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर प्रकट गरी आज मातातिर्थ औँसी मनाइँदै आइएको हो । 

पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार औँसीका अवसरमा बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ । यसदिन आमा नभएकाहरुले भने आमाको श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् ।

‘जननी जन्मभुमिश्च स्वर्गादपि गरियसी भन्दै शास्त्रीय रुपमा नै जन्म दिने आमा र जन्मभुमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ । आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आफैँमा महत्वपूर्ण छ,’ गौतमले भने ।

शास्त्रमा पनि आमामलाई पहिलो स्थान दिइएको छ । शास्त्रमा बाबुभन्दा आमा दश गुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ । मातृदेवो भवः भनेर सबैभन्दा पहिले भनिन्छ । त्यसपछि मात्र पितृदेवो भव, आचार्यदेवो भव भनिन्छ । यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ ।

दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औंसीमा काठमाडौंको मातातीर्थमा ठूलो मेला लाग्ने गर्दछ । मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?