रेडियो नेपालकी बुढी आमै, जसले सबथोक गुमाएर एकथोक कमाइन्

काठमाडौं । लक्ष्मी भुसाल अर्थात् रेडियोकी ‘बुढी आमा’ । विगत ५३ वर्षदेखि ‘बुढी आमा’ को भूमिकामा रेडियो नेपालको कृषि कार्यक्रम चलाउँदै आएकी लक्ष्मीलाई ‘हरि शरणम् बुढी’ भनेर पनि चिन्ने गर्छन् स्रोताहरुले । रेडियोका पारखीका लागि उनको आवाज प्रिय छ । त्यस आवाजमा उनीहरुले अपनत्व महसुस गर्छन् । साँझ ६ः४० नहुँदै रेडियो बटार्छन् बुढी आमाका गन्थन सुन्न । कति स्रोताका लागि अझै पनि रेडियो भनेकै बुढी आमा बोल्ने एउटा भाँडो हो । आवाजको संसारलाई आफ्नो सारा जीवन सुम्पिएकी लक्ष्मी रेडियोकी जीवित इतिहास हुन् ।

रेडियोले उनलाई सानै उमेरदेखि आत्मनिर्भर बनायो र कृषिसम्बन्धि परामर्श दिनसक्ने ज्ञाता पनि । बुढी आमाकै कुरा सुनेर कृषिसम्बन्धि ज्ञान बटुल्छन् किसानहरु । नाटकीय शैलीमा उनले बोलेका कुराहरु सूचना र ज्ञानको ‘डेली डोज’ भएको छ कतिपयका लागि ।

आवाजबाटै लाखौं शुभ चिन्तक कमाएकी उनले १४ वर्षको हुँदादेखि नै पाको उमेरकी महिलाको भूमिका निभाइन् र त्यसलाई एउटा ब्रान्ड बनाइन् । आजकल आफ्नो नाम भन्दा बुढी आमा नै प्यारो लाग्छ उनलाई । जीवनको यति लामो समय रेडियोमा समर्पण गर्ने सम्भवत पहिलो महिला हुन् उनी ।

‘आफ्नो जीवनलाई आफ्नै तरिकामा बाँच’ भन्ने भनाइलाई लक्ष्मीको जीवनले भन्दा राम्ररी कसले प्रमाणित गर्छ होला र ? रेडियोमा बोलेकै कारणले उनलाई परिवारले लखेट्यो । यस क्षेत्रमा उनी यति डुबिन् कि विवाह, घरव्यवहार जस्ता कुराहरु पनि खासै महत्वपूर्ण लागेनन् उनलाई । आवाज, तरङ्ग, रेकर्डर, स्टुडियो, माइक यिनैमा घुम्यो उनको जीवन । अहिले रेडियो नै लक्ष्मीको जीवनसाथी हो, रेडियो नै उनको परिवार ।

समय बदलिएको छ । पहिलोपटक जागिर खान आउँदा लक्ष्मीले  प्रयोग गरेका टेबल, कुर्सी पुराना भइसकेका छन् । धुलोले छपक्कै छोपेको छ । त्यसवेला लेखेका संवादहरु फाइलका ठेलीमा थन्किएका छन् । फाइल राखेको ठाउँमा धमिराले घर बनाएको छ । लक्ष्मी आफैलाई पनि प्रेसर, सुगर जस्ता रोगहरुले गाँजेको छ । एक्लोजीवन बिताइरहेकी छिन् काठमाडौंस्थित जोरपाटीमा । तर, खुसी हुन उनलाई यही कारण काफी छ कि अझै पनि घरबाहिर कतै निस्किदा फोटो खिच्न आउने, बुढी आमा भन्दै बोलाउने, हालखबर सोध्ने मान्छे छन् उनका वरिपरि । यिनै शुभ चिन्तक हुन् उनले कमाएको सम्पत्ति । यी रहुन्जेल बाँचिरहन्छ लक्ष्मीको अस्तित्व ।

उनै सबकी प्यारी ‘बुढी आमा’लाई भेट्न हामी पुग्यौं उनको सबैभन्दा प्रिय ठाउँ जहाँ उनी नाचिन्, गायिन्, खेलिन्, उफ्रिन् र सम्झिन लायक एउटा जीवनकथा कोरिन् । बुढी आमाका कुरा सुन्न भिडियो

लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?