पर्यटकीय क्षेत्र ठमेलबाट २० बालबालिकाको उद्धार

काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलबाट प्रहरीले २० बालबालिकालाई उद्धार गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले आज शनिवार बिहान ३बजे मादक पदार्थ सेवन गरेर ठमेलभित्र विभिन्न क्लब तथा डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिकालाई उद्धार गरिएको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीका अनुसार अपराधजन्य घटनामा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई उद्धार गरिएको हो । 

‘ठमेलभित्र हुने अपराधजन्य घटनाको जोखिमबाट जोगाउन ती बालबालिकालाई नियन्त्रणमा लिएका हौँ,’ उनले भने ।

साथै उद्धार गरिएका सबै बालबालिकालाई उनीहरुका अभिभावकलाई आवश्यक परामर्श गरेर जिम्मा लगाउने प्रमुख प्रहरी नायब उपरीक्षक केसीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?