पार्टीको सुनौलो भविष्यका लागि काम गर्न जरुरी छ : नेता पौडेल

काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको सुनौलो भविष्यका लागि समयबद्ध तालिकाअनुसार काम गर्न जरुरी भएको बताएका छन् । 

काङ्ग्रेस पूर्वकोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकारको निधनको १३ औँ दिनमा पार्टी केन्द्रीय कार्यालयद्वारा आज (आइता) यहाँ आयोजित श्रद्धाञ्जलि शोकसभामा उनले समयमा पार्टीका सबै तहको अधिवेशन सम्पन्न गर्नुपर्ने बताए । 

नेता पौडेलले काङ्ग्रेसलाई वैकल्पिक शक्तिका रुपमा उभ्याउन जरुरी रहेको उल्लेख गर्दै त्यसका लागि स्व नेता ताम्राकारको जस्तो विचार, सोच र योगदानलाई अनुसरण गर्दै पार्टीलाई बलियो बनाउनुपर्ने विचार व्यक्त गरे। 

नेता पौडेलले भने, “पार्टीका सबै सङ्गठनका समस्या नयाँ ढङ्गले समाधान गरी अघि बढ्नुपर्छ, नयाँ शुरुआत गरेर पार्टीलाई सबल बनाएर काङ्ग्रेसले विकल्प दिए ।” जनताले कस्तो काङ्ग्रेस हेर्न चाहेका छन् त्यस्तो पार्टी बनाउन सबै लाग्न उनले आग्रह गरे ।  

“अबको एक÷दुई वर्षमा स्थानीय निर्वाचन शुरु हुन्छ, त्यसपछि राष्ट्रिय निर्वाचन हुन्छ, त्यसको सामना गर्न अहिलेदेखि नै तयारी गर्नुपर्छ”, नेता पोडेलले उल्लेख गरे । त्यसका लागि कार्यकर्तालाई प्रशिक्षण गरी मूल्याङ्कन गर्नुपर्ने र उचित व्यक्तिलाई उचित स्थानमा जिम्मेवारी दिएर काम गर्नुपर्ने उनको सुझाव थियो । 

कार्यक्रममा पार्टी उपसभापति विमलेन्द्र निधिले पार्टी एकता र सुदृढीकरणमा स्व नेता ताम्राकारको योगदानको स्मरण गर्दै ताम्राकार दूरदर्शी राजनीतिकार भएको बताए । फरक प्रसङ्गमा उपसभापति निधिले संविधानको पूर्ण कार्यान्वयन एवं राजनीतिक प्रणालीको पूर्णताका लागि काङ्ग्रेसले जिम्मेवारीपूर्वक अगुवाइ गर्नुपर्ने र त्यसका लागि पार्टीको आन्तरिक एकता बलियो बनाउन आवश्यक रहेको बताए । 

पार्टीका पूर्वमहामन्त्री एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले स्व नेता ताम्राकारले विगतमा पार्टी विभाजनका बेला एकताका लागि गरेको योगदानको स्मरण गर्दै ताम्राकारका सोच, धारणा र योगदानलाई आत्मसात् गरी अघि बढ्नसके ताम्राकारप्रति सच्चा श्रद्धाञ्जलि हुने धारणा व्यक्त गरे ।  

काङ्ग्रेस कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमन्त्री एवं पार्टीका नेता डा रामशरण महत, केन्द्रीय सदस्य मीन विश्वकर्मा, पूर्वकेन्द्रीय सदस्य होमनाथ दाहाल, काठमाडौं काङ्ग्रेस जिल्ला कार्यसमितिका सभापति कृष्ण सबुज बाँनियालगायतले राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अटल, आस्था र समर्पणभाव राख्ने नेता ताम्राकारको निधनले काङ्ग्रेस र सिङ्गो मुलुकलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका थिए । 

पूर्वस्वास्थ्य र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहनुभएका नेता ताम्राकारको यही वैशाख १० गते उपचारका क्रममा निधन भएको थियो । स्व नेता ताम्राकारले पार्टीका संस्थापक नेताहरु बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको सानिध्यमा रही प्रजातान्त्रिक आन्दोलनमा जीवन पर्यन्त क्रियाशील रहेका थिए । 

राजनीतिक जीवनबाहेक पनि स्व नेता ताम्राकारले शान्ति, बुद्ध दर्शन, विभिन्न स्थानमा गुम्बा, मठमन्दिर निर्माण कार्यमा पनि विशिष्ट योगदान पु¥याएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?