आज २५६३ औँ बुद्ध जयन्तीः नयाँ ग्राममा वृक्षारोपणदेखि मायादेवी मन्दिरमा दीप प्रज्ज्वलनसम्म

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी नयाँ ग्राममा वृक्षारोपण गरेका छन् ।

शनिवार लुम्बिनी भ्रमण वर्ष एवं २५६३ औँ बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले लुम्बिनी नयाँ ग्राममा आँपको विरुवा रोपेर वृक्षा रोपणको शुभारम्भ गरेका हुन् । 

लुम्बिनीलाई हरियाली, हराभरा र वातावरणमैत्री बनाउने गुरुयोजना अनुसार लुम्बिनी नयाँ ग्राममा विभिन्न जातका २६ सय ४६ वटा विरुवा रोपिँदैछ ।

वृक्षारोपणपछि प्रधानमन्त्री ओली महिलबार चोकबाट शुरु भई लुम्बिनीस्थित केन्द्रीय नहर हुँदै अघि बढ्ने र्यालीमा सहभागी छन् । र्यालीकै क्रममा प्रधानमन्त्री ओलीले लुम्बिनी नयाँ ग्राममा ५२ फिट अग्लो पिल्लरमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दैछन् ।

त्यसपछि प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यसहित थाई बिहारमा पुगेर क्षिभु संघलाई भाजन दान र अष्ट परिष्कार दान गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी प्रधानमन्त्री ओलीले लुम्बिनीमा राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागत गर्ने छन् । 

बिहान १०ः५० सम्म राष्ट्रपति भण्डारी लुम्बिनी पुग्ने र प्रधामन्त्री ओलीले स्वागत गर्ने कार्यक्रम तय भएको छ । 

त्यसपछि राष्ट्रपति भण्डारी र ओलीले लुम्बिनीमा निर्माणाधीन ५ हजार जना क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रको अवलोकन गर्नेछन् छन् भने ११ बजेपछि लुम्बिनी भ्रमण वर्ष उद्घाटन समरोह तथा २५ सय ६३औं बुद्ध जयन्ती मूल समारोह शुरु हुने छ । 

बुद्ध जयन्ती मूल समारोह कार्यक्रमको अध्यक्षता प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गर्नेछन् भने राष्ट्रपति भण्डारी प्रमुख अतिथि रहने छिन् । 

पूर्व मिस नेपाल सुगरिका केसीले सञ्चालन गर्ने कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् । 

यसै अबसरमा आज साझ मायादेवी मन्दिर परिसरमा २५ सय ६३ वटा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?