कांग्रेसको जागरण अभियान सकेलगत्तै नेकपाले थाल्दै छ गाउँगाउँसम्म एकताको सन्देश पुर्याउने अभियान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज (आइतवार) नेकपा सचिवालय बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेपछि बस्ने नेकपाले जनाएको छ । 

तात्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको एक वर्ष पूरा भएपनि एकीकरणका सम्पूर्ण काम नसकिएपछि नेकपाले बैठकलाई तीव्रता दिएको हो । 

गत बिहीवार बसेको सचिवालय बैठकले २१ वटा भ्रातृ संगठनको नेतृत्व टुंगो लागाइएको थियो भने पोलिटब्यूरो सदस्यको भने टुंगो लागेको थिएन । 

त्यस्तै आज बस्ने बैठकमा पोलिटब्युरो गठन, नेताहरुको जिम्मेवारी बाँडफाँट, सल्लाहकार परिषद् तथा विभिन्न आयोग गठन लगायत विषयमा छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

त्यस्तै बैठकमा केन्द्रीय कमिटी र स्थायी समितिलाई पनि सक्रिय बनाउनबारे छलफल गर्ने  तयारी भएको सचिवालयले जनाएको छ ।  साथै आगामी आर्थिक वर्षको बजेटबारे समेत छलफल हुँदैछ । 

यसैगरी सत्तारुढ दल नेकपाले जेठ मसान्त भित्र एकीकरणका बाँकी सबै काम सम्पन्न गर्ने र गाउँगाउँसम्म एकताको सन्देश पुर्याउन प्रचारात्मक अभियान थाल्ने तयारी गरेको छ । 

उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि एक महिने जागरण अभियानलाई जारी राखेको छ । गत वैशाख २५ गतेबाट ७७ वटै जिल्लामा कांग्रेसले जागरण अभियान शुरु गरेको थियो । 

कांग्रेसको पहिलो चरणको एक महिने जागरण यही जेठ २५ गते सकिदै छ । त्यसलगत्तै नेकपाले गाउँगाउँसम्म एकताको सन्देश पुर्याउन प्रचारात्मक अभियान थाल्ने तयारी गरिरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?