‘सबैलाई मारेर मर्छु भन्थे मानबहादुर माखिम’

विराटनगर – पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु र सबैलाई मार्छु’ भन्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
९ जनाको ज्यान जाने गरी पाँच दिनअघि मिक्लाजुङ ३, आरुबोटेमा भएको दुई परिवारको हत्यामा संलग्न भनिएका मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । ‘घटनाको करिब एक महिना अघिदेखि म पनि मर्छु र सबैलाई मार्छु भनेर घरपरिवार र साथीभाइसँग भन्ने गरेको खुलेको छ’, अनुसन्धानमा संलग्न एक अधिकारीले भने । घटनाका दिन घरबाट उपचारका लागि विराटनगर जान्छु भनी कपडा बोकेर हिँडेको परिवारले प्रहरीसँगको बयानमा बताएका छन् । ससुराली गाउँ आरुबोटेमा मानबहादुर हत्या घटना हुनुभन्दा दुई घण्टाअघि पुगेको प्रहरीले अनुमान गरेको छ । हत्या घटना राति साढे १० देखि साढे १२ बीच भएको अनुसन्धानबाट देखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट आएको टोलीका प्रमुख एसपी उमा चतुर्वेदीले बताए । उनीसहितको तीन सदस्यीय टोली र स्थानीय प्रहरीसमेतको संलग्नतामा अनुसन्धान जारी छ । प्रदेश १ प्रहरी कार्यालयका अनुसार अनुसन्धानक्रममा घटनास्थल, गाउँका विभिन्न स्थान र आफन्तको निगरानीजस्ता काममा करिब ७५ प्रहरी परिचालित छन् ।
शुक्रबारसम्म सीआईबीको टोलीले २५ जनाभन्दा बढीसँग घटना र त्यसअघिको परिस्थितिबारे सोधपुछ गरिसकेको छ । अझै केही दिन सोधपुछ र अनुसन्धानको क्रम जारी रहने चतुर्वेदीले बताए । ‘हालसम्म घटनामा एकजना मात्र संलग्न रहेको प्रमाण भेटिएको छ’, उनले भने, ‘अरू कोही संलग्न थिए, थिएनन् भन्ने कोणबाट पनि अनुसन्धान गरिरहेका छौं ।’
प्रहरीका अनुसार घटनापछि बिहानको ३ बजे एकजना आफन्तलाई फोन गरी आवश्यक परेको छ भन्दै रकम मागेका थिए । कोसँग मागेको भन्ने प्रहरीले खुलाएको छैन । घटनास्थलको प्रकृति र अन्य पक्षहरू अध्ययनपछि मानबहादुरले बिहान साढे ३ देखि ५ बजेभित्र झुन्डिएर आत्महत्या गरेको प्रहरी अनुमान छ । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?