‘केयरफ्री स्नेहा’ भर्सेस ‘केयरफुल स्नेहा’ ! यसरी बनिन् जनावरप्रेमी

काठमाडौं । सबैको जीवनमा कुनै न कुनै टर्निङ प्वाइन्ट आउँछ जसले उसको सोच, उद्देश्य, चाहना सबै कुरा बदलिदिन्छ । जोगीलाई राजा बनाउँछ अनि राजालाई जोगी । स्नेहाको जीवनमा पनि त्यस्तै टर्निङ प्वाइन्ट आयो जसले  पार्टी गर्ने, माछामासुविना खानै नबस्ने, जनावरलाई त्यति वास्ता नगर्ने, जिद्दी अनि ‘गो विद दि फ्लो’ भन्ने हठी स्नेहाबाट पशुप्रेमी, भेगन, सानोसानो कुरामा रमाउने, प्रकृतिप्रेमी बनाइदियो । यहाँसम्मकी केही उद्देश्य नै नभएको स्नेहाको जीवनमा एउटा ‘पर्पोज’ ल्याइदियो । त्यही पर्पोजलाई पूरा गर्ने क्रममा अहिले स्नेहा एनिमल एक्टिभिस्ट भएकी छिन् । ‘स्नेहाज् केयर’ नामक संस्था स्थापना गरेर सबैले बेवास्ता गरेका, अलपत्र सडकमा छोडिएका, घाइते, बेवारिसे कुकुरहरुलाई ‘माया र केयर’ दिन्छिन् ।

स्नेहालाई ‘डग मदर’ पनि भन्ने गरेका छन् धेरैले । अरुले छुनसमेत घिनाउने, शरीरभरि चोटपटक लागेका कुकुरहरुलाई उहाँ यसरी अंकमाल गर्छिन् मानौं कि उनीहरु आफ्नै सन्तान हुन् । स्नेहालाई देख्नासाथ सबै कुकुरहरु वरिपरि  झुम्मिन्छन्, लुटपुटिन्छन्, रमाउँछन् ।

सडकबाट ल्याएर उपयुक्त औषधीउपचार दिने, बन्ध्याकरण गर्ने, निको नहुन्जेल राख्ने र स्वास्थ्यमा सुधार आउँदै गएपछि उनीहरुलाई जहाँबाट ल्याइएको हो त्यहीँ छोड्ने गरेको स्नेहाज् केयरले अहिलेसम्म १० हजारभन्दा बढी कुकुरको उद्धार गरिसकेको छ । कुकुर मात्र नभएर आजकल स्नेहाले गाई, गोरु, खसी, सुँगुर लगायत बेवारिसे पशुहरुको पनि उद्धार गर्छिन् आफ्नो संस्थामार्फत् ।

आवाज नभएका यी प्राणीहरुको बुलन्द आवाज बनेकी छिन् स्नेहा । गाई, गोरु, कुकुर जस्ता पशुलाई चाडवाडमा भगवान मान्दै पुज्ने हाम्रो देशमा पशुसम्बन्धि कुनै कानून नभएको देख्दा निकै नरमाइलो लाग्छ उनलाई । तर, अहिले स्नेहालाई केही राहत मिलेको छ । उनकै पहलमा सर्वोच्चले पशुपन्छीसम्बन्धि छुट्टै ऐन बनाउने आदेश दिएको छ सम्बन्धित निकायलाई । यसलाई स्नेहा आफ्नो सबैभन्दा ठूलो उपलब्धि मान्छिन् ।

कसैको आदेशमा भन्दा पनि मान्छे आफ्नै मनको निर्देशनमा परिवर्तन हुँदोरहेछ भन्ने स्नेहाको बुझाइ छ । एउटा सानो घटनाले उनलाई केयरफ्री स्नेहाबाट केयरफुल स्नेहा बनाइदिएको छ । आफ्नो खुसीलाई प्राथमिकता दिने उनले आजभोलि पशुहरुको अधिकारलाई आफ्नो खुसी बनाएकी छिन् ।

स्नेहाको पशुप्रतिको ‘स्नेह’ हेर्न भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?