काठमाडौं । सरकारले मंगलबार मन्त्रिपरिषद् सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सार्वजनिक गरेको विवरणमा पनि अधिकांश सम्पति श्रीमती जुली महतोको नाउँमा रहेको उल्लेख छ ।
विवरण अनुसार महासेठको नाममा धनुषामा १ बिघा बढी जग्गा रहेको उल्लेख छ भने महतोको नाममा जनकपुरमा ३ कट्ठा जग्गामा घर, ललितपुरमा २ रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा १ रोपनी ७ आना जग्गा छ ।
चल सम्पति विवरणमा ४३ तोला सुन, १.५ किलो चाँदी रहेको उल्लेख छ । यस्तै, २ करोड २५ लाख रुपैयाँ बराबर नगद रहेको पनि मन्त्री महासेठको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै विभिन्न कम्पनीमा मन्त्री पत्नी जुलीको नाउँमा ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको विवरणमा छ ।
सो बाहेक महासेठले परिवारका सदस्य र सगोलमा रहेको जग्गा पनि विवरणमा खुलाएका छन् । रामविलास महासेठको नाउँमा हालको मिथिला विहारी नगरपालिकामा ३३ बिघा, धनुषाकै सबैला नगरपालिकामा आमाको नाउँमा ३९ बिघा जग्गा रहेको उल्लेख छ ।
यस्तै सगोलको घर जग्गामा मिथिला बिहारी नगरपालिका–३ मा पनि करिव १० कट्ठा जमिन रहेको विवरणमा खुलाएका छन् । महासेठका अनुसार उनीसँग आफ्नो नाउँमा सवारीसाधन र पशुधन छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया