ढाका । नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस कार्यबाहक सरकारको नेतृत्व गर्न बिहीबार बंगलादेश फर्किएका छन् ।
आरक्षणविरोधी आन्दोलनबाट सुरु भएको बंगलादेशको राजनैतिक असन्तुष्टिले प्रधानमन्त्री शेख हसिनालाई राजीनामा गरी देश छोड्न बाध्य बनाएपछि विद्यार्थी नेताहरूको प्रस्तावमा सरकारको नेतृत्व गर्ने सहमतिका साथ उनी स्वदेश फर्किएका हुन् ।
बिहीबार दिउँसो पेरिसबाट दुवई हुँदै ढाका आइपुगेका युनुसले बिहीबार साँझ नै नयाँ सरकार प्रमुखको रूपमा शपथ लिने कार्यक्रम छ ।
सरकारको गैर–जिम्मेवारीपनको बीचमा उर्लेको विद्यार्थी आन्दोलन र विद्यार्थीहरूको मागमा सेनाले सहमति जनाएसँगै हसिनाले पदबाट राजीनामा दिन बाध्य हुनुपरेको थियो ।
युनुसले ढाकाका लागि प्रस्थान गर्दा पेरिसमा पत्रकारसमक्ष आफु घर फर्कन पर्खिरहेको र त्यहाँ के भइरहेको छ, कसरी समस्याबाट बाहिर निस्कन सक्छौँ भनेर सोच्न समर्थक सबैलाई आह्वान गरेका थिए । युनुसलाई यस पहिलेको सरकारले १०० भन्दा बढी आपराधिक मुद्दाहरूको आरोप लगाएपछि उनी निर्वासनमा बस्दै आएका थिए ।
सेना प्रमुख जनरल वाकर–उज–जमानले युनुसको समर्थनमा रहेको जनाउँदै बिहीबार साँझ अन्तरिम सरकारको नेतृत्वको शपथ लिने आशा व्यक्त गरे । यसरी आगामी दिनमा लोकतान्त्रिक प्रक्रियाको माध्यमबाट मुलुकलाई अगाडि बढाउन सक्षम हुने विश्वास उनले व्यक्त गरे ।
ढाका बिमानस्थलमा पत्रकारहरुसंग युनुसले ‘केही महिनाभित्र’ चुनाव गराउन चाहेको बताउदै मुलुकले दोस्रो पटक स्वतन्त्रता प्राप्त गरेको उल्लेख गरेका छन् । उनले छिट्टै आफ्नो संलग्नतामा विजय उत्सव मनाउने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया