गाजाबाट ६ जना बन्धकको शव बरामद

लोकपथ
189
Shares

काठमाडौं ।  इजरायली सेनाले आन्तरिक सुरक्षा निकाय शिन बेटसँगको संयुक्त कारबाहीमा गाजाको दक्षिणी क्षेत्र खान युनूसबाट ६ जना बन्धकको शव बरामद गरेको  छ ।

बन्धकमध्ये  यागेभ बुचस्टाब, अलेक्जान्डर डान्सिग, योराम मेट्जर, नादभ पोपलवेल, चेइम पेरी यस पहिले नै मृत घोषित भएका थिए भने अब्राहम मुन्डरलाई मंगलबार बिहान  मृत घोषणा गरेको हो ।  

गुप्तचर तथा फरेन्सिक परीक्षणपछि शव बन्धकहरूको परिवारलाई बुझाउने तयारी भएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

मृत बन्धकका शव बरामदपछि उनीहरूको अन्त्येष्टिका परिवारको पर्खाइको समय सकिएको ‘होस्टेज एण्ड मिसिङ फेमिलीज फोरम’ले विज्ञप्तिमार्फत जनाएको छ ।  

फोरमले इजरायली सरकारलाई बाँकी बन्धकलाई वार्ता र सम्झौतामार्फत् फिर्ताको सुनिश्चित गर्न आह्वान गरेको छ । 

यसै क्रममा इजरायली सरकारले मध्यस्थकर्ताहरूको सहयोगमा हालको सम्झौतालाई अन्तिम रूप दिन लागि पर्न समेत सुझाव दिएको छ ।  

इजिप्ट, कतार अमेरिकालगायतका मध्यस्थकर्ताले इजरायल र हमासलाई इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा बाँकी बन्धकहरूको रिहाइ सुरक्षित गर्न मद्दत गर्ने युद्ध विराम सम्झौतामा सहमत हुन आग्रह गरेका छन् ।

मंगलबार बरामद गरिएका छ वटा शवहरूमध्ये मेट्जर, पेरी र डान्सिग पनि गाजा नजिकैको समुदाय निर–ओजका थिए जुन आक्रमणबाट धेरै प्रभावित क्षेत्र हो ।  

प्यालेस्टिनी इलमिक कट्टरपन्थी समूहले मुन्दर, उनको श्रीमती, छोरी र नातिसमेतलाई अपहरण गरेका थिए । परिवारका अन्य सदस्यहरू नोभेम्बरको एक हप्ता लामो युद्ध विरामको क्रममा रिहा भएका थिए भने उनका छोरा आक्रमणकै दिन मारिएका थिए ।

इजरायली आधिकारिक तथ्याङ्क अनुसार हमासको आक्रमणमा अधिकांश नागरिक सहित  इजरायलमा एक हजार १९९ जनाको मृत्यु भएको थियो । 

त्यसै क्रममा बन्धक बनाइएका २५१ जनामध्ये १०५ जना अझै पनि गाजामा बन्धक अवस्थामा रहेको र ती मध्येका ३४  जनाको मृत्यु भएको सेनाले जनाएको छ ।

इजरायलको जवाफी अभियानले गाजामा ४० हजारभन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले गाजा आक्रमणमा ज्यान गुमाउनेमा अधिकांश महिला तथा  बालबालिका रहेको जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?