भियतनाममा आँधीका कारण ५९ जनाको मृत्यु

लोकपथ
98
Shares

काठमाडौं । भियतनाममा वेगवान् चक्रवात यागीका कारण कम्तीमा ५९ जनाको मृत्यु भएको छ । चक्रवातका कारण उत्तरी भियतनाममा भारी वर्षा हुँदा बाढीले बस्तीहरूमा क्षति पु-याउनुका साथै पुल तथा सवारी साधनसमेत बगाएको  सञ्चारमाध्यममा जनाएको छ । 

आँधी शुक्रबार भियतनाममा अवतरण गरेपछि आएको बाढी, पहिरो र डुबानका कारण  ५९ जनाको मृत्यु भएको हो ।  उत्तरी भियतनामका धेरै नदीहरूमा पानीको स्तर खतराको उच्च तहमा पुगेको छ । 

अधिकारीहरुका अनुसार फु थो प्रान्तमा सोमबार जलमग्न रेड नदीको स्टिल पुल ढलेको छ। पुल भत्किएपछि केही मोटरसाइकल, कार र ट्रक नदीमा खसेका थिए जसमा १३ जना बेपत्ता भएको र नदीमा फसेका केहीलाई उद्धार गरिएको हो  । 

यागी भियतनाममा १४९ किलोमिटर प्रतिघण्टाको गतिको साथ अवतरण गरेका थियो । देशको मौसम विज्ञान विभागले अझै पनि वर्षाले बाढी र पहिरो निम्त्याउन सक्ने चेतावनी जारी गरेको छ । 

आँधीपछि परेको वर्षाले आएकोे बाढी र पहिरोको कारण क्वाङ निन्ह र हाइफोङ प्रान्तमा कम्तीमा ३० लाख मानिसहरू बिजुलीविहीन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?