कुवेतबाट फर्केका श्रीमानको गोली प्रहारबाट श्रीमतीको मृत्यु, बुबामाथि पनि चलाए गोली

लोकपथ
581
Shares

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–५ मा गोली हानेर एक युवकले श्रीमतीको हत्या गरेका छन् ।

बुधबार राति पौने २ बजे श्रीमान्ले चलाएको गोली लागेर उनकी श्रीमती चित्रलेखा यादवको घटनास्थलमा मृत्यु भएको हो । पारिवारिक विवादका कारण उनकी श्रीमानले गोली चलाएको प्रहरीले जनाएको छ ।

छोराले हानेको गोली लागेर उनका ५४ वर्षीय बुवा रामदिनेश राय घाइते छन् । उनको बायाँ हातमा गोली लागेको छ । उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

आफ्नै बुबार श्रीमतीलाई गोली हान्ने व्यक्तिको खोजी कार्य भइरहेको सर्लाही प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार गोली हान्ने व्यक्तिको पहिचान भइसकेको छ, तर अनुसन्धान चलिरहेकोले नाम भने खुलाइएको छैन ।

घटनास्थलबाट सानो हतियार र उक्त हतियारको दुई राउन्ड खोका र एक राउन्ड मिस फायर भएको गोली फेला परेको छ ।
गोली हान्ने व्यक्ति एक महिनाअघि मात्रै कुबेतबाट फर्केका थिए ।

विदेशबाट फर्केपछि पारिवारिक विवाद सुरु भएपछि उनी सबलाई मार्छु भन्दै घरबाट निस्किएका थिए । घरबाट निस्केको करिब एक महिना पछाडि बुधबार राति मात्रै उनी घरमा आएका थिए ।

प्रहरी प्रवक्ता श्रेष्ठका अनु्सार, बुधबार राति साढे १२ बजे अन्य दुई जना व्यक्तिसहित मोटरसाइकलमा आएका उनले श्रीमतीलाई कुटपिट गर्न थालेपछि उनका बाबुले गाली गरेका थिए । त्यसपछि श्रीमती र आफ्नो बाबुलाई गोली हानेका थिए ।

घटनास्थल हरिपुर्वा प्रहरी चौकीबाट करिब एक किलोमिटरको दुरीमा छ । गोली हान्ने व्यक्तिको खोजीका लागि व्यापक संख्यामा प्रहरी परिचालन गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?