उपभोक्ता ठग्नेलाई जोगाउन नसकिने मन्त्री भण्डारीको अडान

लोकपथ
42
Shares
फाइल तस्बिर

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७ असोजमा गरेको बजार अनुगमनका क्रममा काठमाडौंस्थित १७ होटेलमा छापा हानेर एक होटेललाई ३ लाख रुपैयाँ जरिवाना तिराएको थियो ।

उक्त कारबाहीपछि होटेल व्यवसायीहरूको संगठन र उद्योग वाणिज्य संघलगायत आफूहरूको ध्यानाकर्षण भएको बताएका छन् । संगठनहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कारबाही विरुद्ध ज्ञापन पत्रसमेत पेस गरेका छन् । 

बिहीबार व्यवसायीहरूको प्रतिनिधिमण्डल उद्योगमन्त्री दामोदर भण्डारीलाई भेट्न पुगेका थिए । उनीहरूको माग व्यापारीलाई कारबाहीबाट जोगाउन र जरिवाना गरिएको रकम फिर्ता गर्नुपर्ने सम्मको छ ।

तर उक्त प्रतिनिधिमण्डललाई मन्त्री भण्डारीले व्यापारिक क्षेत्रमा भइरहेको अनियमितता रोक्नमा साथ दिन आह्वान गरेपछि प्रतिनिधिमण्डल सहमत हुँदै फिर्ता भएको मन्त्रीको सचिवालयले जनाएको छ । 

मन्त्री भण्डारीले व्यवसायीका संगठनलाई बजार अनुगमनमा सँगै हिँड्न आग्रह गर्दै व्यवसायीले गल्ती नगरेमा बजार अनुगमन नै नगर्नेसमेत बताए । 

उनले भने, ‘अहिले व्यवसायी, ग्राहक, सरकारका प्रतिनिधि, जेसुकै भए पनि सबैभन्दा पहिला सबै उपभोक्ता हौँ । स्वस्थकर खाद्य सामग्री उपयुक्त मूल्यमा पाउनुपर्छ । तर काठमाडौंका केही रेस्टुरेन्टले असुल्दै आएको मूल्य अत्यधिक छ, त्यो गर्न पाइँदैन । २२ रुपैयाँ पर्ने पानीको बोतल एकसय रुपैयाँमा बिक्री गर्दा कारबाही नगरेर के गर्ने ? होटलैपिच्छै फरकफरक मुल्यसूचि रहेका छन्, यसमा एकरूपता ल्याउनुस् , गुणस्तरीय सामग्री उचित मूल्यमा उपलब्ध गराउनुस् । अनुगमन गर्न छाडिदिन्छौँ । अहिले राजमार्ग क्षेत्रका होटेलहरुमा गुणस्तरहीन खाना खानुपर्छ, व्यवसायीको फाइदाको लागि उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्न पाइदैँन । उपभोक्ता ठग्ने विषयमा सरकार मुखदर्शक बन्न सक्दैन ।’ 

मन्त्री भण्डारीले व्यवसायीका संगठनहरुले उपभोक्ताको हितमा वकालत गर्न आग्रह गरे । उनले महँगी अनुसारको सुविधा होटलहरुले नदिएकोले सुधार गर्नुपर्ने बताउँदै होटेलमा काम गर्ने कर्मचारीले समयमै उचित तलब नपाएको पर्याप्त गुनासो आफूसँग आउने गरेको गरेको भन्दै सचेत गराए । 

एकै स्तरका होटेल तथा रेस्टुरेन्टमा मूल्यमा पनि एकरूपता हुनुपर्ने मन्त्री भण्डारीको भनाई छ । उनले पाँचतारे होटेल,रेस्टुरेन्टहरु र खाजाघरहरुमा पाइने सामग्रीको स्तर हेरेर मात्रै मूल्य निर्धारण गर्नुपर्ने बताए । 

यता, व्यवसायीले गरिरहेको अनियमितताबारे पर्याप्त गुनासो आउने गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?