काठमाडौं । हवाई हमला गर्दै आएको इजरायलको रक्षा बल (आईडीएफ) ले अब लेबनानमा जमिनमा पनि सैन्य अपरेसन गर्ने घोषणा गरेको छ ।
आईडीएफले सोसल मिडिया प्लेटफर्म एक्समा विज्ञप्तिमा नै जारी गरी दक्षिणी लेबनानमा जमिनबाट सैन्य कारबाही सुरु गर्न लागेको जनाएको हो ।
आईडीएफले विज्ञप्तिमा भनेको छ, ‘हामी दक्षिणी लेबनानको जमिनबाट सैन्य कारबाही गर्न जाँदै छौँ, हामी दक्षिणी लेबनानमा हिजबुल्लाह आतंककारीहरूको स्थानलाई लक्ष्य गर्ने छौँ, यो सैन्य कारबाही सीमित दायरामा हुनेछ । हाम्रो निशाना सीमावर्ती गाउँ हो, जहाँबाट हिजबुल्लाहले उत्तरी इजरायलको सीमामा बस्ने मानिसहरूलाई आक्रमण गर्छन् । यो सैन्य कारबाही योजनाअन्तर्गत हुँदै छ, जसको तयारी पछिल्ला महिनामा गरिएको थियो । यो सैन्य कारबाही इजरायली वायुसेना र आईडीएफ संयुक्त रूपमा गर्दै छन् ।’हिजबुल्लाहले भने यसअघि नै इजरायलको जमिन हमला सामना गर्न आफूहरु तयार रहेको बताइसकेको छ ।
हिजबुल्लाह उपप्रमुख कासिमले भने, ‘हामी इजरायलको जमिन आक्रमण (ग्राउन्ड अट्याक) को सामना गर्न तयार छौँ र समूहले इजरायलविरुद्धको लडाइँ जारी राख्नेछ । यो युद्ध लामो समयसम्म चल्न सक्छ । हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह शुक्रबार इजरायली आक्रमणमा मारिएका छन् । उनको स्थानमा अर्को नेता चयन गर्न लागिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया