काठमाडौं । सरकारले आर्थिक सुधारका लागि सुझाव आयोग गठन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसचिव रामेश्वर खनालको संयोजकत्वमा आर्थिक सुधार सुझाव आयोग गठन गरेको हो ।
जसको सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा. रामप्रसाद ज्ञवाली, डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल रहेका छन् ।
उपप्रधान एवं अर्थमन्त्री विष्णुपौडेलले उक्त उच्चस्तरीय आयोगले सबै पक्षसँग छलफल गरी नेपालको अर्थतन्त्र सुधारका लागि राम्रो सुझाव दिने बताए ।
त्यस्तै बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा आरोहणका लागि थप ५७ वटा हिमाल खुला गर्न स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तै चालु आर्थिक वर्ष २०८१–०८२ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत विभिन्न आयोजना तथा निकायका लागि २६६ जना राजपत्रांकित पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया