सल्यानबाट दाङ आउँदै गरेको जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु 

लोकपथ
133
Shares

दाङ । तुलसीपुरको साततलेमा यात्रुबहाक जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक दाङकोे दंगीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हिरामणि बुढा मगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता ईश्वर थापाले जानकारी दिए । 

प्रवक्ता थापाले दिएको जानकारी अनुसार दुर्घटनामा तीन आमा छोरा गम्भीर घाइते छन् । घाइते हुनेमा सल्यानको कपुरकोट गाउँपालिका–६की ३१ वर्षिया टिकादेवी वली, उनका १३ वर्षीय छोरा महेश वली र १० वर्षीय छोरा जीवन वली गम्भीर घाइते छन् ।

घाइते सबैलाई थप उपचारका लागि बाँकेको नेपालगन्जस्थित नर्सिङ होमका लागि रिफर गरिएको छ । राप्ती राजमार्ग अन्तर्गत सल्यानबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ ज ८२२ नम्बरको बोलेरो जीप तुलसीपुर उपमहानगरपालिका – ३ साततलेमा बिहान करिब ४ बजेतिर दुर्घटनामा परेको थियो । 

जीप सडकबाट झन्डै तीन सय मिटर तल खसकोे छ । जीपमा चालक सहित पाँच जना यात्रु सवार थिए । घटना लगतै इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो । दुर्घटनाको कारण खुली सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?