लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसेडरमा राजेश हमाल नियुक्त

लोकपथ
0
Shares

काठमाडौं । लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई आगामी एनपीएलका लागि आफ्नो ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ । सोमबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा यसको घोषणा गरिएको हो ।

नेपाली चलचित्र उद्योगमा दशकौं लामो योगदान दिएका राजेश हमाल पर्दामा आफ्नो डाइलग डेलिभरी तथा एक्सनले चर्चित छन् भने पर्दा बाहिर पनि आफ्नो बौद्धिकता र व्यक्तित्वले चिरपरिचित छन् । नेपाली चलचित्रको क्षेत्रमा उनको असाधारण योगदानले उनलाई ‘महानायक’ को रुपमा पनि चिनिन्छ ।

ब्राण्ड एम्बेसेडरको रुपमा नियुक्त भएपछि हमालले लुम्बिनी लायन्ससँगको यस सहकार्यले अत्यन्त खुसी र गर्व महसुस गराएको बताए । लुम्बिनी लायन्सको एनपीएलमा सफलता हासिल गर्ने लक्ष्य मात्र नभई समग्र क्रिकेट खेललाई नै प्रवर्धन गर्ने प्रतिबद्धता साँच्चै नै प्रेरणादायी भएको उनले बताए ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले चलचित्र जगतको ‘लायन’लाई लुम्बिनी लायन्समा भित्राउन पाउँदा उत्साहित भएको बताए । लुम्बिनी लायन्सलाई समग्र रुपमा एनपीएलको उत्कृष्ट टिम बनाउने लक्ष्य रहेको बताउँदै उनले हमालको आगमनले लक्ष्य प्राप्तिको बाटोमा पाइला चालेको बताए ।

नेपाल प्रिमियर लिग (एनपीएल) आगामी १५ मंसिरदेखि ६ पुषसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?