नेपाल परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लव

लोकपथ
42
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपालमा परिवर्तन भए पनि क्रान्ति अधुरो भएको बताएका छन् । 

शनिबार पार्टीको ११औँ ऐतिहासिक पार्टी पुर्न गठन दिवसको अवसरमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उनले मजदुर, किसान, नेपालका जनजाति, विद्यार्थीहरुको पक्षमा जति नै लडे पनि जनताले चाहेको जस्तो जीवन नपाएको भन्दै क्रान्ति अधुरो भएको बताए । 

उनले भने, ‘हामी लडेर आएका हौँ । सबैलाई थाहा छ । हामी कम्युनिष्टहरु, सच्चा लोकतन्त्रवादीहरु र देशभक्तहरु हौँ । हामीसँग देशलाई माया गर्ने मान्छेहरु थिए, दिदीबहिनीको लागि बलिदान दिने, मजदुर किसान, जनजाति, विद्यार्थीहरुको पक्षमा लड्ने हामी नै हो । लडेर इतिहास निर्माण गरेका हौँ । ०६४ सालपछि नयाँ जीवन चलाइरहेका छौँ । तर ०६४ पछि नेपालमा सम्झौता भयो, केही परिवर्तन भयो तर नेपाली जनताले चाहेको जस्तो जीवन पाएन क्रान्ति अधुरो भयो ।’

यस्तै, उनले नेपाली जनताको बलिदानबाट जस्तो खालको व्यवस्था र राज्यको कल्पना गरेको थियो त्यो पनि पूरा नभएको बताए । 

उनले भने, ‘नेपाली जनताको बलिदानबाट जस्तो खालको व्यवस्था र जनताको राज्यको कल्पना गरिएको थियो । त्यस्तो राज्य जनताको बन्न सकेन । नेपाली जनताको व्यवस्था, कानुन बन्न सकेन । नेपालका युवाले देशमा आफ्नो भविष्य नदेख्ने अवस्था भयो । त्यसपछि नेकपा पार्टी बनेको हो । राज्य जनताको बनेन दलाल, भ्रष्टहरूको हातमा गयो । यो पार्टी बन्नु नै एउटा नयाँ क्रान्तिको सुरुवात हो ।’ नेपालमा भ्रष्टाचारको आतंक छाएको पनि उनको भनाइ थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?