काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी मंसिर १७ गते जम्बो टोलीसहित चीन भ्रमणमा जाँदैछन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्रीको टोलीमा ८७ जना समेटिएका छन् । जसमा सरकारका तर्फबाट ३९ जना रहनेछन् भने निजी क्षेत्रबाट ४८ जना उपस्थित हुनेछन् ।
निजी क्षेत्रबाट उद्योगी व्यवसायीहरु भ्रमण टोलीमा सहभागी हुनेछन् । प्रधानमन्त्रीको भ्रमणमा जम्बो टोली जान लागेको र त्यसले राज्यलाई भार पर्ने भन्दै आलोचना समेत भइरहेको छ । तर निजी क्षेत्रबाट भ्रमणमा सहभागी हुनेहरुले भने आफ्नो खर्च आफ्नै ब्यहोर्ने संस्कृती पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डले बताए ।
मन्त्रिपरिषद् बैठकपछि निर्णयहरु सार्वजनिक गर्दै मन्त्री पाण्डेले भने, ‘निजी क्षेत्रको ठूलो उपस्थिती छ । त्यो आफ्नै खर्चले जान्छ । सरकारलाई आर्थिक दायित्व पर्दैन । केही सांसदहरु हुनुहुन्छ । केही जरुरी मान्छेहरु मात्रै हुनुहुन्छ । मन्त्रीहरुमा परराष्ट्रमन्त्री मात्रै जानुहुन्छ । प्रधानमन्त्री जाने भएपछि पोर्टोकलका हिसाबले जानुपर्ने संख्यामा मान्छेहरु जानुभएको छ ।’
प्रधानमन्त्रीसँग आवश्यक मान्छे मात्रै भ्रमण टोलीमा समेटिएको उनले बताए । साथै त्यसमा कम गर्ने ठाउँ नै नभएको समेत उनको दाबी छ ।
भ्रमण टोलीमा मन्त्रीका तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको सहभागीता हुनेछ भने अन्य मन्त्रीहरु सहभागी हुनेछैनन् ।
भ्रमणको एजेण्डाबारे तय गर्न अर्को मन्त्रिपरिषद् बैठक बस्नेछ । प्रधानमन्त्री ओली २० गते नेपाल फर्किनेछन् । पछिल्लोपटक प्रधानमन्त्री भइसकेपछि ओलीको दोस्रो विदेश भ्रमण हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया