काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा दुःख पीडामा परेकालाई सहयोग गर्नु नेपाली समाजको संस्कृति भएको उल्लेख गर्दै सहयोगको भावना वृद्धि गर्नुपर्नेमा जोड दिए ।
गत कात्तिक २८ गते झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट ज्यान गुमाएका नारायण नगरकोटी र श्रीमती सानुमाया नगरकोटीका दुई छोरीलाई आज शैक्षिक सामग्री हस्तान्तरण गर्दै उनले उक्त कुरा बताएका हुन् ।
दुर्घटनापछि अध्यक्ष दाहाल कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटस्थित नगरकोटी निवास पुगेर बाबुआमा गुमाएका दुई छोरी गरिमा र अनु नगरकोटीको अभिभावकत्व लिने घोषणा गरे । उनको घोषणालाई समर्थन गर्दै उद्धव नेपालले गरिमा र अनुलाई कक्षा १२ सम्म अध्ययन गर्दा आवश्यक पाठ्यपुस्तकलगायत शैक्षिक सामग्री र पोशाक सहयोग गर्ने घोषणा गरे ।
सहयोग घोषणा कार्यक्रममा अध्यक्ष दाहालले शैक्षिक सामग्री सहयोग गर्ने नेपाल, घटनालगत्तै एकताबद्ध भएर यो पीडालाई उजागर गर्दै सहयोग संकलन गर्ने आलापोटवासी र निःशुल्क अध्ययनको व्यवस्था मिलाउने विद्यालयलाई धन्यवाद दिए। उनले भने, ‘समाजमा पीडामा भएका र सेवा आवश्यक भएकालाई सहयोग गर्ने भावना नेपाली समाजको संस्कृति नै हो, यसलाई बढाएर लैजानुपर्छ ।’
पार्टीले बालिकाहरुको अभिभावकत्व लिने प्रतिबद्धता व्यक्त गरिसकेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसलाई पूरा गर्ने र कक्षा १२ सम्म पार्टीले नै अभिभावकत्व लिएर बुवाआमा गुमाएका दुई छोरीलाई पठनपाठनको व्यवस्था मिलाउने बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया