सत्ता परिवर्तनका लागि नेपाली काग्रेससँग पहल गरेको छैन, गगनजीप्रति दया लाग्छ : अध्यक्ष दाहाल

लोकपथ
112
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भएको दाबी गरेका छन । 

शनिबार निजी निवास खुमलटारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । केही दिनअघि कीर्तिपुर उपनिर्वाचनको चुनावी सभामा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अध्यक्ष दाहालले हप्ताको दुई/तीन पटक नेपाली कांग्रेससँग प्रधानमन्त्री बन्न आग्रह गरेको बताएका थिए ।

सोही बारेमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले सत्ता परिवर्तनको कुरा आफूले अघि नबढाएको दाबी गर्दै ०८४ सम्मकै सरकार चलाउन बारम्बार सार्वजनिक मञ्चहरुमार्फत आग्रह गरेको बताए । उनले महामन्त्री थापालाई आफूले युवा नेताको रूपमा धेरै संवाद र सहकार्य गर्ने गरेको बताउँदै पछिल्ला केही महिना यता धेरै परिवर्तन भएको पाएको उनको भनाइ छ  । 

जनतालाई झुटो बोलेको देख्दा महामन्त्री थापाप्रति दया लागेको उनको टिप्पणी थियो । कांग्रेस सभापति शेरबहादुर देउवासँग आफ्नो सरकार परिवर्तनको बारेमा प्रत्यक्ष र परोक्ष रूपमा कुरा नभएको दाबी गरे । महामन्त्री थापालाई आफ्नो अभिव्यक्तिबारे आत्मसमीक्षा गर्न सुझाव दिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?