कास्की । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत अनुदान नै उपयुक्त हुने विचार व्यक्त गरेका छन् ।
नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटमा उपप्रधानमन्त्री सिंहले बिआरआई परियोजनाअन्तर्गत सडक, सुरुङलगायत भौतिक पूर्वाधारका क्षेत्र छनोट गरिनुपर्नेमा जोड दिए । ‘वर्तमान आर्थिक अवस्थाका कारण ऋणका लागि ऋण लिनु उपयुक्त नहुने देखिन्छ । परियोजना सम्पन्न हुन समय लाग्ने र पछि सरकारलाई ऋण तिर्न गाह्रो हुने भएकाले अनुदान लिनु उपयुक्त हुन्छ, ’उनले भने ।
मुलुकमा स्थायित्व कायम गर्न, आर्थिक समृद्धि हासिल गर्न र जनताका भावनाअनुरूप काम गर्न संसद्का दुई ठूला दल मिलेर वर्तमान सरकार गठन भएको बताउँदै उनले सहमति र सहकार्यका आधारमा सरकार अघि बढिरहेको उल्लेख गरे ।
सरकारले सहकारीसहित अन्य अनियमितताको कानुनअनुसार अनुसन्धान अघि बढाएको उपप्रधानमन्त्री सिंहले बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार प्रयासरत रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया