काठमाडौं । आत्महत्या दुरुत्साहन अभियोगमा देवान राई पक्राउ परेका छन् ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ धिप्लुङका २१ वर्षीय सुमन खड्कालाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा ३५ वर्षीय राई पक्राउ परेका हुन् ।
गत मंसिर ४ गते आफ्नो पसलबाट पैसा चोरेको आरोप लगाई राईले सुमनको गाली बेइज्जतीसँगै निर्घात कुटपिट गरी उनलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै पीडित परिवारले दिएको किटानी जाहेरीका आधारमा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक संजु कार्कीले जानकारी दिए ।
घटना भएको १३ दिनपछि पीडित परिवारले प्रहरीमा राईविरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा उजुरी दिएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ का राईलाई पक्राउ गरेको उनको भनाइ छ ।
मंसिर १७ गते खड्काका परिवारले किटानी जाहेरी दिएका थिए । खड्काले आफूमाथि राईले लगाएको आरोप र गाली बेइज्जती सहन नसकी मंसिर ९ गते राती घरबाट दुई सय मिटरको दूरीमा रहेको दुधिलोको रूखमा झुन्डी आत्महत्या गरेका थिए ।
खड्काले आफूले आत्महत्या गर्नुको मुख्य कारण पैसा चोर दोष लगाई गाली बेइज्जती गर्ने देवान राई रहेको सुसाइड नोटमा उल्लेख गरेको पीडितका दाजु गणेश खड्काले जानकारी दिए ।
राईको कुटाईबाट मृतक सुमनको शरीरका विभिन्न भाग र नलीखुट्टामा गहिरो चोट रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया