काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा पुर्याइएको छ । पर्साको सानो पाइला सहकारीको रकम हिनामिनाको बयानका लागि उनलाई वीरगञ्ज लगिएकोमा बयान सकेपश्चात् आज बुधबार दिउँसो उनलाई विमानमार्फत् सिमराबाट काठमाडौं हुँदै पोखरा पुर्याइएको हो ।
उता, कास्कीमा उनीविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । पुस ५ गतेअगावै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी सरकारी वकिल कार्यालय कास्कीले गरेको छ । रवि र छविलाल जोशीविरुद्ध पूरक अभियोगपत्र पेस हुनेछ । छविलाई असोज ६ र रविलाई कात्तिक २ गते काठमाडौंबाट प्रहरीले पक्राउ गरी पोखरा लगेको थियो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा सुरुमा पक्राउ परेका उनीहरुमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा प्रहरीले अनुसन्धान गरिरहेको छ । कास्की प्रहरी हिरासतमा रहेकै अवस्थामा रवि र छविलाई रुपन्देही, काठमाडौं, चितवन र पर्सामा बयानका लागि लगेको थियो । सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप उनीहरुमाथि छ ।
बुटवलको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी र पर्साको सानो पाइला सहकारीबाट रकम लगिएको छानबिनबाट देखिएको थियो । लामिछानेको हकमा यसअघि उनलाई पहिलोपटक ६, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिन, चौथोपटक १३ दिन, पाँचौँपल्ट १५ र छैटौँपटक ४ दिन म्याद थप गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया